काठमाडौं । बिहीबार भारत, गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनापछि ब्ल्याक बक्सको खोजी जारी छ। यो समाचार तयार हुँदासम्म एयर इन्डियाको यो विमानको महत्वपूर्ण उपकरण ब्ल्याक बक्स फेला परेको छैन।
ब्ल्याक बक्स पाएपछि बोइङ कम्पनीको यो ड्रीमलाइनर विमान किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने कुरा खुलस्त हुनेछ। लन्डनका लागि उडेको यो विमान दुर्घटनामा २४१ यात्रुको मृत्यु भएको छ । एकजना अपत्यारिलो ढंगले बाँचेका छन्, उनको उपचार भैरहेको छ ।
अहमदाबाद विमान दुर्घटनाको अनुसन्धानमा ब्ल्याक बक्स धेरै महत्त्वपूर्ण हुनेछ। यसले दुर्घटना कुनै प्राविधिक गडबडी, इन्जिन फेल, चरा ठोक्किनु, विमानमा आगो लागेको वा मानवीय त्रुटिका कारण भएको हो कि अरु नै कुनै कारण छ भन्ने कुरा पत्ता लगाउनेछ।
ब्ल्याक बक्सहरूले चालक दलको सम्वाद MAYDAY कल, प्राप्त स्वचालित अलर्टहरू र उडान भरेपछि विमानको नियन्त्रण पुनः प्राप्त गर्न गरिएका कार्यहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ।
सुन्तला रंगको कालो बक्स
ब्ल्याक बक्स एक विशेष उपकरण हो। यसको रंग चम्किलो सुन्तला रंगको हुन्छ जसले गर्दा दुर्घटना पछि पनि त्यसलाई सजिलै फेला पार्न सकिन्छ।
यो हवाईजहाजमा जडान गरिएको हुन्छ। यसको काम उडानसँग सम्बन्धित हरेक जानकारी रेकर्ड गर्नु हो। व्यावसायिक विमानमा यस्ता दुई रेकर्डर हुन्छन्। यी रेकर्डरहरू बलियो आवरणले मोरिएका हुन्छन्।
बलियो आवरणले मोरिएकाले यो उपकरण विमान विस्फोट भयो भने, विमानमा आगो लागेमा, पानीको चाप र उच्च गतिका कारण हुने दुर्घटनाहरूमा पनि सुरक्षित हुन्छन्। यस्ता जटिल परिस्थितिमा पनि ब्ल्याक बक्समा कुनै असर गर्दैनन् र रेकर्ड गरिएको डेटा यसमा सुरक्षित रहन्छ।
यसको काम के हो ?
ब्ल्याक बक्समा दुई भाग हुन्छन्। पहिलो फ्लाइट डाटा रेकर्डर (FDR) र दोस्रो ककपिट भ्वाइस रेकर्डर (CVR) हो।
यी दुई भागहरू नै ब्ल्याक बक्स हो । उडान डेटा रेकर्डरले इन्जिनको कार्यसम्पादन, नियन्त्रण सतहको चाल र प्रणाली सतर्कताहरूको बारेमा जानकारी प्रदान गर्दछ। यसले उचाइ, गति, इन्जिन थ्रस्ट र उडान मार्ग डेटा जस्ता महत्त्वपूर्ण प्राविधिक प्यारामिटरहरूको बारेमा पनि जानकारी प्रदान गर्दछ।
ककपिट भ्वाइस रेकर्डरले चालक दलले आपतकालीन चेकलिस्टहरू पालना गरे कि गरेनन्, उनीहरूले कसरी प्रतिक्रिया दिए र उनीहरूले कुनै प्राविधिक समस्याहरूबारे छलफल गरे कि गरेनन् भन्ने कुराको रेकर्ड राख्दछ ।
ककपिट भ्वाइस रेकर्डरले ककपिटबाट आउने सबै अडियो रेकर्ड गर्छ। यसमा पाइलटको कुराकानी, रेडियो प्रसारण, चेतावनी अलार्म र परिवेशका मेकानिकल आवाजहरू समावेश छन्। यी आवाजहरूले दुर्घटना हुनुभन्दा ठीक अघिका क्षणहरूको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्न सक्छन्।
अब प्रश्न उठ्छ, जब यो सुन्तला रंगको छ भने यसको नाममा कालो शब्द किन राखियो। अर्थात्, यसलाई ब्ल्याक बक्स किन भनिन्छ ?
वास्तवमा, यसलाई १९५४ मा हवाईजहाजमा जडान गर्न सुरु गरिएको थियो। त्यतिबेला यसको भित्री भित्ता कालो राखिएको थियो। यसलाई फोटो फिल्ममा आधारित डेटा सुरक्षित राख्न प्रयोग गरिन्थ्यो। भित्र कालो रंग लगाएर यसले अँध्यारो कोठा जस्तै काम गर्थ्यो। त्यसैले यसलाई ब्ल्याक बक्स भनिन्छ।
नवभारत टाइम्सका राजेश भारतीले तयार गरेको सामग्री अनुसार, वास्तवमा, पहिले फोटो खिच्न क्यामेरामा रिल प्रयोग गरिन्थ्यो। आजको जस्तो डिजिटल फोटोग्राफीको युग थिएन। यो रिललाई नेगेटिभ पनि भनिन्थ्यो। फोटो खिचेपछि, यो नेगेटिभबाट फोटो तयार पारिन्थ्यो।
यो तस्बिर अँध्यारो कोठामा तयार पार्नु पथ्र्यो। एउटा कोठा जहाँ सूर्यको किरण पनि पुग्न सक्दैनथ्यो। यो थोरै सूर्यको किरणमा पनि बिग्रन्छ। यो प्रक्रिया ब्ल्याक बक्सको प्रारम्भिक मोडेलमा प्रयोग गरिएको थियो। यस कारणले गर्दा, यसको भित्रका भित्ताहरू कालो राखिएको थियो र त्यसैले अझै पनि यस उपकरणलाई ब्ल्याक बक्स भनिएको हो।
प्रतिक्रिया