काठमाडौं। अमेरिकाले पाकिस्तानद्वारा प्रस्तावित इरानसँगको दुई हप्ते युद्धविराम प्रस्तावलाई स्वीकार गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियाली राष्ट्र इरानको सभ्यता नै मेटाइदिने आफ्नो समयसीमा समाप्त हुनुभन्दा ९० मिनेट अगाडि यो घोषणा गरेका हुन्।
ट्रम्पले मंगलबार साँझ 'ट्रुथ सोसल' मार्फत यो घोषणा गरे। उता डेमोक्र्याटहरूले भने इरानी सभ्यता समाप्त पार्ने ट्रम्पको असंतुलित धम्कीका कारण उनलाई पदबाट हटाउन माग गरिरहेका थिए।
अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, 'पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल असिम मुनिरसँगको कुराकानीका आधारमा, जसमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्तिलाई रोक्न अनुरोध गरे, इरान 'स्ट्रेट अफ हर्मोज' पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुने सर्तमा म तयार भएको छु।'
ट्रम्पले थपे, 'म इरानमाथि हुने बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत छु।' उनले यो दुईपक्षीय युद्धविराम हुने पनि बताए।
तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धमा दुई हप्ते युद्धविराम स्वीकार गरेको र शुक्रबारदेखि इस्लामावादमा अमेरिकासँग वार्ता गर्ने जनाएको छ।
इस्लामावादमा पाकिस्तानी प्रधानमन्त्री शरीफले सबै विवादहरू सुल्झाउन निर्णायक सम्झौताका लागि थप वार्ता गर्न अप्रिल १०, शुक्रबारका दिन अमेरिका र इरानका प्रतिनिधिमण्डललाई निमन्त्रणा दिएका छन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रत्यक्ष वार्ताका बारेमा छलफल भइरहेको तर 'राष्ट्रपति वा ह्वाइट हाउसले घोषणा नगरेसम्म केही पनि अन्तिम नहुने' बताएकी छिन्।
सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र त्यो वार्ताका लागि व्यवहारिक आधार भएको विश्वास व्यक्त गरे। उनले यो दुई हप्ते युद्धविरामको अवधि ठूलो सम्झौता गरी सम्भावित रूपमा युद्ध अन्त्य गर्न प्रयोग गरिने बताए।
'यसो गर्नुको कारण यो हो कि हामीले हाम्रा सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेका छौँ र इरानसँग दीर्घकालीन शान्ति तथा मध्यपूर्वमा शान्तिका लागि एक निश्चित सम्झौताको धेरै नजिक पुगेका छौँ,' ट्रम्पले भने। उनले विगतका विवादित लगभग सबै बुँदाहरूमा सहमति भइसकेको र यो दुई हप्ताको समयले सम्झौतालाई अन्तिम रूप दिन मद्दत गर्ने बताए, प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ।
ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको बयान पनि साझा गरे, जसमा अमेरिकासँगको युद्धविराम सम्झौताको पुष्टि गरिएको थियो।
इरानी विदेशमन्त्रीले भनेका छन्, 'यदि इरान विरुद्धको आक्रमण रोकियो भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले आफ्नो रक्षात्मक कारबाही बन्द गर्नेछन्।' उनले आगामी दुई हप्ताका लागि इरानी सेनाको समन्वयमा 'स्ट्रेट अफ हर्मोज' बाट आवतजावत सम्भव हुने पनि बताए।
तेहरानले आफ्नो आणविक इन्धनको भण्डार त्याग्न अस्वीकार गरेपछि अमेरिकाले फेब्रुअरी २८ मा इरान विरुद्ध युद्ध सुरु गरेको थियो।
प्रतिक्रिया