-श्रीकृष्ण अनिरुद्ध गौतम
२०८४ सालमा, दुई तह, प्रतिनिधिसभा र सातै प्रदेशसभाहरूका लागि नयाँ प्रतिनिधिहरू चुन्ने निर्वाचन हुनेछ । साविक बमोजिम चुनाव मंसिर ८४ मा हुनुपर्नेछ तथापि एक दुई महिना तलमाथि हुन सक्छ तर, परिस्थिति तलबितल नपरेमा, चुनाव मध्य ८४ भित्रै हुनुपर्ने हुन्छ । संविधान आएपछिको दोस्रो निर्वाचनबाट अहिलेसम्ममा साढे दुई वर्षको अवधि व्यतित भइसकेको र अब बाँकी पनि त्यस्तै साढे दुई वर्ष नै छ । नेपाली कांग्रेस र एमालेबीच भएको भद्र सहमतिअनुसार अब बाँकी एघार महिना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै सिंहदरबारमा बहाल रहनुहुनेछ । त्यसपछि उहाँले कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको आसन सुम्पेर आफू आफ्नी धर्मपत्नीसहित भक्तपुरको बालकोटस्थित निवासमा स्थानान्तरित हुनुहुनेछ ।
आज जसरी राजधानीको बालुवटारस्थित प्रधानमन्त्री निवासमा एमालेका कार्यकर्ताहरूको लाम र चहलपहल छ, त्यसरी नै त्यस ठाउँमा सकल दर्जाका कांग्रेसजनको लाम लाग्नेछ, चहलपहल हुनेछ । आज राधिका शाक्य रहनुभएका स्थानमा आरजु राणा हुनुहुनेछ । हुन त राणा अहिले प्रधानमन्त्री ओलीकी परराष्ट्र मन्त्रीका रूपमा बालुवाटार आवतजावत गरी नै रहनुभएको छ, आफ्ना पति पुनः प्रधानमन्त्री भएपछि आवतजावत मात्र होइन, त्यही नै उहाँको पनि वासस्थान बन्न जानेछ ।
त्यतिमात्र होइन अहिले राजेश बज्राचार्य रहेका ठाउँमा भानु देउवाले कार्यभार सम्हाल्नु हुनेछ । राजेश मातहत भइरहेका अतिथि सत्कार आहार व्यवहार भानुका हस्तगत हुने छन् । जसरी आज कसलाई भेट दिने, कसलाई नदिने भन्ने जिम्मेवारी राजेशमा निहित छ, त्यो सरक्कै भानुमा सर्नेछ । ओली चढिरहेको वाहनमा देउवा चढ्नु हुनेछ । बालुवाटारमा यसअघि पाँच पटक बसिसक्नुभएका देउवा छैठौं पटक पुनः सअधिकार सपरिवार भित्रिनु भएपछि एकपटक बालुवाटार फेरि कांग्रेसमय बन्ने छ ।
यी र यसै प्रकृतिका परिवर्तन निश्चनै हुने छन् । बालुवटारमा चार पटक बसेका मानिस फिर्ता जानेछन्, पाँच पटक बसेका मानिस छैटौं पटक बस्न आउने छन् । बालुवाटारले राम्ररी चिनेका, त्यहाँका रुख बिरुवा, घर, चराचुरुंगीहरूले फेरि पुरानै तर अलि बुढिएका मानिसको साक्षात्कार गर्न पाउने छन् । ओलीले देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री पद बुझाएपछि यस्तै बदलाव आउने छन् । पहिलाकै मानिस पहिलाकै ठाउँमा फर्केर आउने छन् । वस्त्र फेरिएलान् तर अधिकांश मानिस उनै हुने छन् ।
यहाँनेर प्रश्न छ, गम्भीर प्रश्न छ, ओलीका ठाउँमा देउवा पुनस्र्थापित हुँदा मुलुकलाई फरकचाहिं के पर्छ ?
यो प्रश्न आजै मेरो मनमा उब्जेको होइन, साँच्चै नै यो मेरो प्रश्न नै होइन । मलाई त आफ्ना प्रश्नहरूको उत्तर प्राप्त भइसकेको छ । देशको राजनीतिमा कहाँनेर त्रुटी छ, यसको उत्तर वर्तमान संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली, र साथसाथै पार्टी र नेताहरूको अभिमुखीकरणको विश्लेषण गर्दा उत्तर स्वतः प्राप्त हुन्छ । यो प्रश्नचाहिं विशेष गरेर मनमनै उकुसमुकुसिएको तन्नेरी पुस्ताले मैसित सोध्ने गरेको प्रश्न हो । प्रधानमन्त्रीमा बारम्बार उनै पात्रहरू दोहोरिइरहँदा पनि अझै के आश गर्ने ठाउँ रहिरहन्छ ? देखिइ त सकेको छ क्षमता, के अझै उनीहरूमाथि भरोसा गर्न सकिन्छ ?
यो चाबहिलको युवैयुवा भेला हुने चिया पसलमा युवाहरूले परस्परमा कुरा गरिरहँदा सुनेको प्रश्न हो । धनगढीको गोठाले चिया पसलमा तन्नेरीहरूसितको संवादका क्रममा उनीहरूबाट आएको प्रश्न हो । प्रधानमन्त्रीको आसन पुष्पकमल दाहालबाट ओलीतर्फ सर्नु र प्रधानमन्त्री पद ओलीबाट देउवाले प्राप्त गर्दा के फरक पर्छ ? पुराना पाका पुस्ताको कुरा आफ्नो ठाउँमा छ, तर यी प्रश्नहरू मूलतः तन्नेरी पुस्ताका प्रश्न हुन् । राजनीतिक दलहरूले चौरासी चौरासी भनिरहँदा चौरासी अगाडि नै यी प्रश्नहरूको उत्तर नदिंदा उकुसमुकुसिएको पुस्ता आक्रोशित हुनु स्वाभाविक हो ।
उग्र हुनु स्वाभाविक हो ।
लोकतन्त्र प्रश्नहरू गर्न पाउने, प्राधिकारीमाथि प्रश्न गर्न पाउने पद्धति हो, व्यवस्था हो र प्राधिकारीहरूले समुचित उत्तर दिनु उनीहरूको दायित्व हो, कर्तव्य हो । प्राधिकारीहरूलाई जनताको आदेशका कारण प्राधिकार प्राप्त भएको हो त्यसैले प्रश्न गरिन्छन् र प्रश्नले उत्तर खोज्छन् ।
प्रधानमन्त्रीमात्र होइन, मन्त्री, सांसदहरू नै किन बारम्बार उनै दोहोरिइरहन्छन् ? कार्यप्रदर्शन गर्न नसकेका मानिस नै किन बारम्बार दोहोरिएका ? एक पटक, नभए दुई पटकमा त कार्यक्षमताको रामै्र प्रदर्शन भइहाल्छ, त्यसैले बारम्बार उनै अनुहारहरू दोहोरिदा अनुहार दोहोरिनुबाहेक नयाँ के हुन्छ ? दोहोरिनुहोस्, ठीक छ तर दोहोहोरिएर उहाँहरूले गर्नुचाहिं के हुन्छ ? यी प्रश्नहरू मैले गण्डकी प्रदेशको म्याग्दीमा सुनें, लम्जुङमा सुनें । यत्रतत्र सर्वत्र सुनें । देशका विभिन्न प्रदेशहरूमा जहाँ जहाँ गएँ, सबैतिर सुनें । यहाँ यस माध्यममार्फत् तिनै प्रश्नहरू प्रस्तुत गर्ने उद्यममात्र गरेको हुँ । यी प्रश्नहरूको उत्तर सम्बन्धित दलहरू, पदाधिकारीहरू, पात्रहरूले दिनुपर्ने हुन्छ ।
उत्तर दिंदा उहाँहरूलाई राम्रो हुन्छ । केपी शर्मा ओलीमा आफू आजन्म प्रधानमन्त्री भइरहने चाहना हुनु, इच्छा आकांक्षा हुनु स्वाभाविक हो । मान्छे अधिकांशतः सत्ताप्रिय नै हुन्छन् । देउवा सातौं पटक प्रधानमन्त्री बन्न चाहनुहुन्छ, एउटा रेकर्ड स्थापित गर्न चाहनुहुन्छ र कांग्रेस र कांग्रेसलाई साथ दिनेहरूले बारम्बार बनाइरहे भने उहाँ बनिरहनु हुन्छ । अझ भगवानका अनुकम्पाले उहाँको आयु डेढ सय वर्ष हुने हो भने दुई तीन पुस्ता अरू थेग्ने उहाँको इच्छा हुन सक्छ । अर्थात् उहाँलाई पार्टीले आफ्नो प्रमुख मानिरहेसम्म र कांग्रेसले मत प्राप्त गरिरहेसम्म उहाँ प्रधानमन्त्री बनिरहनु हुन्छ ।
निश्चय नै देशमा प्रश्न योमात्र छैन, अरू पनि प्रश्न छन् । तर, अरू मूलभूत प्रश्नहरू यी प्रश्नहरूको उत्तरसँगै जोडिएर आउँछन् । के कांग्रेसले यसैबीच आफ्नो महाधिवेशन चौरासीपूर्व नै गर्छ, गर्छ भने निर्वाचन नयाँ नेतृत्व मातहत होला र परिदृश्य फेरिएला तर चौरासीअघि महाधिवेशन नगर्दा आम निर्वाचनको नेतृत्व फेरि पनि देउवाले नै गर्नु हुनेछ । उहाँले नै गर्नु हुने भएपछि उहाँको टीम पनि यही नै हुने सम्भावना प्रबल छ । जब टीम यही हुन्छ त एजेण्डामा के तात्विक अन्तर आउला त ? कस्तो गृहकार्य गरिएला ?
लोकतन्त्रले पात्रसँगै टीम पनि नयाँ खोज्छ । प्रज्ञासम्पन्न ऊर्जाशील टीम हुँदा मजा नै अर्कै हुन्छ, जोश जाँगर नै नयाँ ऊचाइमा पुग्छ । शान नै अर्कै हुन्छ, शान नै अर्कै हुन्छ किनभने त्यसले आशाको सञ्चार गराउँछ । यो यथार्थ वास्तवमा देउवालाई भन्दा अरू कसलाई थाहा होला ? उहाँ नै त हो जसले गिरिजाप्रसाद कोइरालासँग प्रतिष्पर्धा गर्नुभयो । कोइरालामामाथि बारम्बार प्रश्नहरूको वर्षात् गर्नुभयो । कोइराला भएकै अवस्थामा दुई पटक निर्वाचित प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रश्नका उत्तर खोजेरै बन्नु भयो । साधिकार दावी गरेरै बन्नु भयो । तथापि, कोइरालाको स्नेहको अंश पनि थियो उहाँमाथि ।
आज देउवा गिरिजाप्रसाद कोइरालाको ठाउँमा हुनुहुन्छ । तात्पर्य हो, लिने होइन दिने ठाउँमा हुनुहुन्छ ।
लोकतन्त्र भनेकै प्रकारान्तरमा पुरानोलाई ससम्मान विदा गर्दै नित्य नवीनताको खोजी हो । त्यसैले यसमा आवधिक निर्वाचन अनिवार्य हुन्छ, यसमा पदमै बसिरहन पनि बारम्बार जनादेश प्राप्त गरिरहनु पर्छ ।
तर एउटै व्यक्ति बारम्बार पदमा बसिरहनुलाई निको मानिदैन र साथै यसको जैविक कारण पनि छ, एउटा निश्चित उमेरमा पुगेपछि शरीर निरन्तर दुर्बल हुँदै जान्छ, स्मरणशक्ति क्षीण हुँदै जान्छ । जस्तै अत्यन्त सक्रिय जीवन व्यतित गर्नुभएका भनेर चिनिने गिरिजाप्रसाद कोइराला जीवनको उत्तरार्धमा दुर्बल र अत्यन्त कृषकाय बन्न पुग्नु भएको र कृष्णप्रसाद भट्टराईजस्तो प्रत्युत्पन्नमति भएका नेताको समेत स्मरण शक्ति ज्यादै क्षीण बन्न पुगेको थियो । उता भारतमा अटलबिहारी वाजपेयीजस्तो प्रतिभाशाली नेता पनि संज्ञानशून्य बन्न पुग्नु भएको थियो ।
पार्टीहरू र नेतृत्व स्वयंले यी विषयहरूमाथि विशद विमर्श गर्नु र कार्यप्रर्दशनमुखी धार अवलम्बन गर्नु उत्तम हुन्छ भनिरहँदा के पनि भन्नैपर्छ भने पार्टीभित्रै नेतृत्व बदल्ने अथवा राख्ने, जुन पक्ष बलियो हुन्छ, त्यसैमा आगामी कोर्स निर्भर गर्छ ।
चौरासीमा हुने दुई तह प्रदेशसभा र केन्द्रको प्रतिनिधिसभा भन्दा अगाडि, बाँकी रहेका साढे दुई वर्ष कांग्रेसलगायतका दलहरूको तयारी के कस्तो हुन्छ ? निर्वाचनलाई मात्र कर्मकाण्ड, निर्वाचनको मुखैमा पुगेर गठबन्धन गरेर चुनाव जित्ने, कसैले हार्ने अनि हार्नेसितै मिलेर सरकार बनाउने, सत्तामा बस्ने, कोट अनकोट “अतिथि सत्कार, आहार, बिहार र व्यवहारमा” त्यसपछि अहिलेजस्तै दिन बिताउने उद्यम गरिन्छ ? आफू गाली खाने र आफूले पनि मुख छोड्ने अशिष्टताकै निरन्तरता हुन्छ कि नेपाललाई उद्यमीहरूको आकर्षणको थलो बनाउने पौरख गरिन्छ ?
कांग्रेसको निर्वाचन नेतृत्व कसले गर्छ, देउवाले नै गर्नुहुन्छ कि उहाँले तोकेको प्रतिनिधिले ? विमलेन्द्र निधि ? कि शशांक कोइराला ?
अथवा देउवा इतर खेमातिर सर्छ चुनाव अभियानको नेतृत्व ? कांग्रेस नेतृत्वमा उक्लिने शेखर कोइरालाको सम्भावना कति छ ? किन यी सबैलाई गगन थापाले उछिन्छन् ?
एमालेको चुनावी अभियान नेतृत्व कसले गर्छ । ओलीले नै गर्नुहुन्छ, कि कमान सम्हाल्न पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी आउनु हुन्छ ?
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीको अगाडि आउने सम्भावना के कति छ ?
चौरासी अघि जेजस्तो सकारात्मक वा नकारात्मक संदेश दिइन्छ, चौरासीको परिणाम त्यसैमा निर्भर गर्छ ।
यो स्तम्भमा यिनै प्रश्नहरूको उत्तर खोजिने छ । संवाद, स्थलगत अध्ययन तथा विविध अनुभव, र ग्रन्थहरू यस स्तम्भका सन्दर्भ सामग्री हुने छन् ।
यसको भिडियो सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्- https://www.youtube.com/watch?v=A-db-pXdiJ0
प्रतिक्रिया