एमसीसीबारे छिट्टै निष्कर्ष निकाल्ने कार्यदलको तयारी

काठमाडौं । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ पाँच दलीय गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारदेखि छलफल सुरु गरेको हो ।

कार्यदलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्य दलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ । उनले भने,‘ पहिलो बैठकको छलफल सकारात्मक रह्यो । केही दिनपछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं । र त्यो देशबासीाई सुसूचित गर्छौं । यसमा धेरै छलफल भइसकेको छ । अब यसलाई कसरी एउटा निष्कर्षमा पुर्याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुर्नुपर्छ ।’

सत्ता गठबन्धनले गतसाता एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र संचारमन्त्री कार्की सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गरेर जानुपर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा यसलाई संसदबाट अनुमोदन गर्न नहुने पक्षमा देखिएका छन् । नेकपा एमालेले भने सत्तारुढ दलको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ ।

प्रतिक्रिया