मनिषालाई ‘दिल तो पागल हे’को पछुतो

मुम्बई। बलिउड अभिनेत्री मनिषा कोइराला हालका दिनमा सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन्। यो पीरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन्। मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

हालै एक अन्तरवार्तामा मनिषाले आफ्नो करियरको बारेमा कुराकानी गरेकी छन्। उनले फिल्म ‘दिल तो पागल हे’ अस्वीकार गर्दाको पछुतो अहिले लागिरहेको खुलाएकी छन्।

मनिषाका अनुसार उनलाई यश चोपडाले ‘दिल तो पागल हे’का लागि अफर गरेका थिए। तर उनले त्यो अफरलाई अस्वीकार गरिन्। फिल्ममा यशले मनिषा र माधुरी दिक्षितलाई अभिनय गराउने सोच बनाएका थिए। तर मनिषाले यशको प्रस्तावलाई सिधै अस्वीकार गरिन्। 

“मलाई आफ्नो करियरको ठूलो पछुतो यो कुरामा छ कि मैले यश चोपडाजीका साथ कुनै फिल्म गर्न पाइनँ। ‘दिल तो पागल हे’मा मलाई माधुरीका साथ कास्ट गरिएको थियो। तर म माधुरीसँग डराएँ र फिल्मबाट पछि हटें”, उनले भनेकी छन्।

मनिषाले अस्वीकार गरेपछि निशाको भूमिका करिश्मा कपूरले निर्वाह गरेकी थिइन्। यो फिल्मले उनको करियर चम्किएको थियो। ‘दिल तो पागल हे’ अस्वीकार गरेको केही वर्षपछि मनिषाले राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा माधुरी दीक्षितका साथ अभिनय गरिन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया