अपराजित रहँदै नेपाल बन्यो समूह विजेता, साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौं । नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ । ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । 

वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।  नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । 

नेपालका लागि गुल्शन झाले सर्वाधिक अविजित ३२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो ।  साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका लागि करण केसी र अविनाश बोहोराले २–२ र ललित राजबंशी र प्रतिश जिसीले १–१ विकेट लिए ।
 

प्रतिक्रिया