‘रावायण’का लागि एक्सन सिक्दै पल शाह

काठमाडौँ। फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन्। निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका हुन्।

पलले आफ्नो ‘लभर ब्वाई’को छविलाई फेर्न एक्सन सिकिरहेको बताए। “मलाई अहिलेसम्म दर्शकले प्रेमकथामा फिल्ममा धेरै देख्नुभयो। अब म त्यो छवि फेर्न चाहन्छु”, उनले भने।

पल फिल्म ‘पुजार सार्की’मा ‘लभर ब्वाई’ भन्दा फरक चरित्रमा देखिँदैछन्। तर यसमा उनको भूमिका पूर्ण एक्सनमूलक नरहेको निर्माण युनिटले जनाएको छ।

२०८१ भाद्र २१ गते तिजलाई रिलिज मिति तोकेको फिल्म ‘रावायण’ वैशाखबाट छायांकनमा जाँदैछ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्ममा सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानी छ। फिल्ममा पलसँगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारहरुको अभिनय रहने छ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया