‘जारी’को रेकर्डलाई पछ्याउँदै ‘महाजात्रा’

काठमाडौँ। गत चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ।

यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ।

‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईका फिल्म ‘शत्रु गते’ले बक्सअफिसमा १४ करोडको ग्रस कलेक्सन गरेको थियो। यो रेकर्डलाई ‘महाजात्रा’ले यसै साताबाट उछिन्ने करिब निश्चित भइसकेको छ।

फिल्मका निर्माता दीपेश म्याक्स खत्रीले नयाँ वर्षको छेकोमा पनि फिल्मले राम्रो शो पाइरहेकाले चौथो साता अझ राम्रो व्यापार गर्ने बताए। “सबै हलतिर दर्शकको बाक्लो उपस्थिति छ। धेरै हलमा परिवारसहित दर्शकहरु फिल्म हेर्न आउनुभएको छ। यो साता पनि अझ राम्रो व्यापार हुनेमा हामी ढुक्क छौं”, उनले भने।

फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउत, शिशिर वाङ्देल, दिव्य देव, राजाराम पौडेल, प्रविण खतिवडालगायतका कलाकारको अभिनय छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया