फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

काठमाडौँ। बलिउडका सुपरहिट फिल्म ‘भूतनाथ’, ‘ओम शान्ति ओम’, ‘हेलो ब्रदर’, ‘पहेली’, ‘वाह लाइफ हो तो ऐसी’ र ‘तलाश’ मा एउटा कुरा समान छ। त्यो समानता यो हो कि यी फिल्ममा सुपरस्टारहरु भूत चरित्रमा छन्। अब यो भूत चरित्रको सूचीमा अभिनेता सञ्जय दत्त पनि जोडिएका छन्। सञ्जय निर्देशक मारुतीको फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिन लागेका हुन्।

फिल्ममा प्रभासको प्रमुख भूमिकामा अभिनय रहनेछ। फिल्ममा राजा साब बनेका प्रभासको बुवाको मृत्युपछि सञ्जयलाई दर्शकले भुतको चरित्रमा देख्नेछन्। भूतसँग प्रभासको दृश्यलाई रोचक बनाउन निकै स्पेशल इफेक्टको प्रयोग गर्ने तयारीमा निर्देशक मारुती छन्। अमिताभ बच्चन अभिनित फिल्म ‘भूतनाथ’को जस्तै हजुरबुवा र नातीको संवादलाई ‘राजा साब’मा कमेडी शैलीमा देखाइनेछ।

सञ्जय यतिबेला साउथ फिल्ममा सक्रिय छन्। उनीसँग साउथ फिल्मको २५ वर्ष पुरानो सम्बन्ध छ। उनी पहिलोपटक सन् १९९८ मा तेलुगू फिल्म ‘चन्द्रलेखा’मा विशेष भूमिकामा देखिएका थिए। यसपछि सन् २०१३ मा हिन्दी र तेलुगूमा एकसाथ रिलिज फिल्म ‘जन्जीर’ मा उनी देखिए।

प्रकाश मेहरा निर्देशित र अमिताभ बच्चन अभिनीत फिल्म ‘जन्जीर’ यो रिमेकमा सञ्जय शेर खानको भूमिकामा देखिएका थिए। जुन चरित्र पहिलो भागमा प्राणले निभाएका थिए। उनी दुई वर्षअघि रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा भिलेन चरित्रमा देखिएका थिए।

गत वर्ष अभिनेता विजयको तमिल फिल्म ‘लियो’मा सञ्जयले एन्टनी दासको भूमिका निभाएका थिए। यो वर्ष उनी तेलुगू फिल्म ‘डबल इस्मार्ट’मा उनी बिग बुल, कन्नड फिल्म ‘केडी द डेविल’मा विशाल अग्निहोत्री चरित्रमा देखिँदैछन्।(नेपाल न्यूज बैंक)  

प्रतिक्रिया