'विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवाद गर्छौं'

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोइरालाले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नु भएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् । कोइरालाले नवनिर्वाचित पार्टी सभापति देउवाले विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने चेतावनी दिए ।

आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको दावी गरे । कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने बताए ।

उनले भने, ‘उहाँसँगको प्रतिस्पर्धाको नेपाली काँग्रेसको यो आन्तरिक लोकतन्त्र हो । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनु भएको छ । जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं । म पराजय भएँ । निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ । त्यो स्वभाविक हो । मैले यसलाई एकदमै स्वभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । हामीहरु भागबण्डाको राजीनीतिमा लाग्दैनौं । राम्रो काम गर्दै गयौं भने पक्कै पनि आफैं उहाँहरुलाई सोच्न बाध्य बनाउँछौ भन्ने कुरा तपाईहरुको माझ राख्न चाहन्छु । तपाईहरुले जुन माया दिनु भएको छ । यो मायाले मेरो राजनीतिक यात्रा फेरि नयाँ ढंगले सुरु गर्छु ।’

प्रतिक्रिया