एक हजार जनामा गुञ्जिए गजल

काठमाडौँ। कुनै दिन मौनता मेरो तिमीलाई नहोस् भारी
               यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी !

गजलकार डा भोजराज घिमिरेका यी शब्दमा सङ्गीतकार/गायक लालकाजी श्रेष्ठले प्रस्तुति दिइरहँदा राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालय वाह ! वाह !! ले गुञ्जायमान बन्यो।

शनिबार नेपाल गजल प्रतिष्ठानको आयोजनामा भएको ‘साङ्गीतिक गजल गुञ्जन, २०८०’मा ९ वटा गजल ८ जना गायक/गायिकाले प्रस्तुत गरेका थिए।

गायिका जलजला परियारले वसन्ता बरालका शब्द ‘तिमीले जिस्किएको पल मजा हुन्छ, छुँदा झन् सुस्तरी आँचल मजा हुन्छ’ स्टेजबाट गाइरहँदा बजेको तालीको पर्राले करिब एक हजार श्रोताका कानधेरै बेर गुञ्जायमान बने।

नौवटै गजललाई शास्त्रीय र अर्धशास्त्रीय शैलीमा गाइएको थियो। सङ्गीत मर्मज्ञ चण्डीप्राद काफ्ले र भविन ढुङ्गानाले सङ्गीत संयोजन गरेको कार्यक्रममा डा प्रदीपकुमार मैनाली, आर्या आयुषा, अमरदेव बाँस्तोला, प्रमोद थापा, राम कँडेल ‘अधीश’, आँचलकुमार शर्मा र विनोद बिम्बितका गजलहरू चण्डीप्रसाद काफ्ले, आवाज शर्मा, भविन ढुङ्गाना, लालकाजी श्रेष्ठ र राज सागरले सङ्गीत गरेका थिए।

गजलहरू जलजला परियार, भविन ढुङ्गाना, दीपिका श्रेष्ठ, रोशा फुँयाल, अमिर परियार, सुनन्द ढकाल, राज सागर र लालकाजी श्रेष्ठले गाएका थिए।

कार्यक्रममा गजलकार बूँद रानालाई पद्मिल गजल बहार सम्मान तथा पुरस्कार र विनोद बिम्बितलाई के लत बस्यो मलाई सम्मान र पुरस्कार प्रदान गरियो। पुरस्कार राशि ३५ हजार र १५ हजार रुपैयाँ छ।

पुरस्कृत व्यक्तित्वबारे समालोचक घनेन्द्र ओझाले बोलेका थिए। बूँद राना नेपाली गजलमा छ दशकदेखि सक्रिय रहेका बताउँदै उनलाई सम्मान गर्नु समग्र गजललाई सम्मान भएको ओझाले बताए। बिम्बित नवसर्जक भएर पनि परिपक्व सिर्जना गर्ने ओझाको भनाइ थियो।

प्रमुख अतिथि डा घनश्याम न्यौपाने परिश्रमीले अब नेपाली गजलले राजमार्गको यात्रा तय गरिसकेको उल्लेख गरे भने सम्मानित रानाले यस कार्यक्रमले नेपाली गजलको उचाइ बढाएको बताए।

प्रतिक्रिया