नेपालसामु हङकङको २ सय १३ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । टी–२० आई खेलमा घरेलु टोली हङकङले नेपाललाई २ सय १३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । 

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । निर्धारित समयमा हङकङले ६ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल बनायो । 

हङकङका लागि बाबर हायातले विष्फोटक इनिङ खेले । ४९ बलको सामना गरेका हायातले १३ छक्का र ३ चौकाको मद्दतमा ११० रनको शतकीय पारी खेले । उनलाई आकाश चन्दले क्याप्टेन रोहित पौडेलको हातबाट १९ औं ओभरमा पुगेर आउट गराए । 

यस्तै, हङकङका लागि अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले २१ रन जोड्दा कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा शूल्य रनमै आउट भए ।

नेपालका लागि आकाश चन्दले सर्वाधिक तीन विकेट लिदा प्रतिश जिसी र रसिद खानले समान एक ÷एक विकेट लिए ।  

आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दलाई डेब्यू गराएको थियो ।  उनले आफ्नो काविलियत पहिलो मैत्रिपूर्ण खेलमा हङकङको तीन विकेट लिएर सावित पनि गरे ।  

चन्दले नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । 

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि आज मैत्रिपूर्ण खेल खेलाइएको हो । 

नेपाल र हङकङबीच हालसम्म ७ टी–२० आई खेल हुँदा नेपाल ४ खेलमा विजयी र ३ खेलमा पराजित भएको छ । 

त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । 

नेपालको प्लेइङ ११ मा आज रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द छन् ।
 

प्रतिक्रिया