मतदानमा विवेक प्रयोग गर्न शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको नेता तथा १४ औँ महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बजेदेखि हुन लागेको दोस्रो चरणको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरेका हुन् ।

महाधिवेशन प्रतिनिधिहरु आफैं नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै कोइरालाले मतदानमा आफ्नो विवेक प्रयोग गर्न र आफ्नो मनको अन्तरआत्माले भने बमोजिम मतदान गर्न आग्रह गरे ।

उनले राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने र नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताए । उनले भने, ‘राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता भन्ने कुरामा म अत्यन्त विश्वास गर्छु । नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन भन्ने कुरापनि यहाँहरुको माझमा राख्न चाहन्छु । महाधिवेशनका प्रतिनिधिहरु आफैँ नेता हो उहाँहरुले आफ्नो मनको अन्तरआत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु।’ कोइरालाले आफूले कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरेको बताए ।

प्रतिक्रिया