नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

काठमाडौँ। आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ।

षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृंखलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले विश्वभर प्रदर्शनको जिम्मा लिएको छ।

इन्टरनेनमेन्टका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मध्यपूर्व अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रीव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्रालि, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा एमएसएम इन्टरटेनमेन्ट र रोटे पिङले फिल्म वितरण र प्रदर्शन गर्दैछ।

इन्टरटेनमेन्टका सञ्चालक छत्र थापाले नेपाल झैँ विदेशमा दर्शकमाझ ‘महाजात्रा’ प्रतिक्षित रहनुमा ‘जात्रा’को अघिल्लो श्रृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता र सफलता रहेको बताए। “विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको फिल्मको बजार बलियो देखिएको छ। त्यो मौलिक कथामा महाजात्रा पनि पर्छ”, उनले भने।

‘महाजात्रा’ का कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ श्रृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताए। फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले आपतकालिन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरेको बताए।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ। फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया