कांग्रेसको निर्वाचनमा ४६७९ मत खस्यो

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । निर्वाचन समितिले भने औपचारिक घोषणा गरेको छैन ।

बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो । मतदानका लागि पाँच बजेसम्मको समय तोकिएको भएपनि मतदान नसकिएपछि तीन पटक समय थप गरिएको थियो । सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका छन् । तर देउवा र कोइरालाबीचनै प्रतिस्पर्धा हुने देखिएको छ ।

सभापतिको मतगणना भने राति एक बजेपछि सुरु गर्ने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया