कुमार दाइकोे निधनले निम्त्याएको शुन्यता

-कृष्ण हुमागाँई

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत २२ गते निधन भएपछि झापाको राजनैतिक वृत्तभित्र एक प्रकारको शुन्यता छाएको छ। उच्च सम्भ्रान्त परिवारमा जन्मेर पनि सँधै गरीब, दुखी र निमुखा मानिसहरुको पक्षमा आवाज उठाइरहने बुढाथोकी झापाली जनताकाबीचमा लोकप्रिय नेताका रुपमा परिचित थिए। जनताका काममा कहिल्यै जाती र पार्टी नहेर्ने उनी झापालीका साझा अभिभावक मानिन्थे। जो कोही पनि समस्या लिएर आफूकहाँ आएमा निस्वार्थ भावले सहयोग गर्ने उनको बानी थियो।

राजनैतिक विचार र आस्थामा सँधै एकै ठाउँमा अडिग रहन नसके पनि आफूलाई सही लागेको कुरामा एक्लै पनि उभिनसक्ने नेता बुढाथोकीमा बलियो साहस थियो। त्यसैले त २०३६ सालताकाका आफ्ना सहयोगी साथीभाइलाई छोडेर पनि उनी पञ्चायतमा केही सीमित मानिस मात्र लिएर पनि जान तयार भए। पञ्चायतमा प्रवेश गरेता पनि उनले कहिल्यै प्रजातन्त्र पक्षधरलाई दमन गरेनन्। दुःख दिएनन्। बरु राष्ट्रिय पञ्चायतभित्रै बहुदलको माग गर्न पछि परेनन्।

२०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा घर चुनाव चिन्हमा केशवकुमार बुढाथोकी र घैला चुनाव चिन्हमा द्रोण आचार्य उम्मेदवार भएका थिए। झापाली जनताले कांग्रेसी पृष्ठभूमिका बुढाथोकी र बामपन्थी पृष्ठभूमीका आचार्यलाई अत्यधिक बतले रापंसमा बिजयी गराएका थिए। बुढाथोकीलाई तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेस समर्थकहरुको सहानुभूति थियो भने द्रोणलाई बामपन्थी उम्मेदवारका रुपमा प्रचारित गरिएको थियो। राष्ट्रिय पञ्चायत सदस्यमा नरेन्द्र खनाल, मोहनलाल अग्रवाल गोपालचन्द्रसिंह राजवंशी लगायतका उम्मेदवारहरु पनि चुनावी मैदानमा खडा थिए, तर जनताले घर–घैला नै रोजे। अर्थात् जनस्तरबाट मतदान मार्फत कांग्रेस बामपन्थी गठबन्धन भएको थियो त्यसबेला।

नेपाली कांग्रेसको नेतृत्वमा सर्वमान्य नेता गणेशमानसिंहको कमाण्डमा संयुक्त बाममोर्चा सम्मिलित २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा पञ्चायतले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका बहुदलवादीमाथि क्रुर दमन गरेको बिषयमा बुढाथोकीले सार्वजनिक रुपमै बिरोध जनाएका थिए। पञ्चातयी सरकारमा बसेर बहुदलवादीको पक्षपोषण गरेको भन्दै तत्कालिन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले  जलस्रोत सहायक मन्त्रीबाट बुढाथोकीलाई बर्खास्त गरेका थिए। पञ्चायती सत्ताको मन्त्रीबाट हटेपछि झापा आएका नेता बुढाथोकीको अगुवाइमा २०४६ साल फागुन ७ गते प्रजातन्त्रवादीहरुले बिर्तामोडमा पञ्चायी ब्यवस्थाको बिरोधमा नारा जुलूस लगाएर बिशाल प्रर्दशन गरेका थिए।

पञ्चायती प्रधानमन्त्री मरिचमान श्रेष्ठले मन्त्रीमण्डलबाट अपदस्थ गरेर हटाएपछि सर्वाधिक चर्चामा रहेको र प्रजातन्त्रवादी जनताले आफ्नो नेता पाएको अनुभूति गर्दैगर्दा उनी २०४६ सालको जनआन्दोलनमा निरन्तर सहभागी भने भएनन्। आन्दोलनको बिरोधमा पनि लागेनन् र सक्रिय पनि भएनन्। त्यसबेला सक्रिय भएर आन्दोलनकै क्रममा काँग्रेसको झण्डा बोकेर संघर्षको मैदानमा उत्रिएका भए अहिलेसम्म उनले राजनीतिमा प्रप्त गरेकोे उचाइ भन्दा माथिल्लो उचाई अवश्य नै प्राप्त गर्नसक्थे भन्छन् बुढाथोकीलाई जानेका मानिसहरु। तर २०५१ सालपछिको नवप्रवेशी काँग्रेसको दर्जा दिलाइदियो नियतिले उनलाई। त्यसबेला उनलाई पञ्चहरुको पार्टीमा लाग्न गलत सल्लाह दिनेहरुले नियतवस उनको राजनैतिक उचाई घटाइदिएको ठान्छन् राजनीतिक विश्लेषक।

कहिले कांग्रेस त कहिले पञ्च हुँदै राजनीतिको उकाली–ओराली गरिरहेका नेता बुढाथाकी २०४६ सालमा प्रजातन्त्र आएपछि भने कांग्रेसको कित्तामा बस्न सकेनन्। उनी प्रजातन्त्रको नामै सुन्न नचाहने पूर्व पञ्चहरुले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सूर्यबहादुर थापासँग जोडिन पुगे। आफैंले मानेका नेता गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहहरुलाई पनि चटक्कै छोडिदिए। २०४८ को आम निर्वाचनमा राप्रपा गाई चुनाव चिन्हमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बने। कांग्रेसी पृष्ठभूमिका बुढाथोकीले मत काटिदिंदा नेपाली काँग्रेसका उम्मेदवार समाजवादी चिन्तक सीके प्रसाईं ‘भरतबाबु’ झापाका लागि नयाँ मान्छे एमालेका देबी ओझासँग पराजित हुनुप¥यो। देबी ओझा २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातन्त्र ‘कु’ गरेपछि राजाको समर्थक बने भने कुमार बुढाथोकी राजा ज्ञानेन्द्रको प्रजातन्त्र बिरोधी शाही ‘कू’ बिरुद्ध नेपाली कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा सक्रिय भए।

चुनाव सकियो कुमारबाबुको राप्रपा यात्रा पनि सकियो, आफ्नै कारणले चुनाव हारेका भरतबाबुबाटै नेपाली काँग्रेस पार्टीको सदस्यता लिएर २०५१ सालमा उनी आफ्नो पुरानो घरमा पुनः फर्किए। त्यसबेला पनि राप्रपाबाट फर्कँदा कतिपय समर्थकहरुलाई राप्रपामै छोडेर काँग्रेसमा आए। त्यतिमात्र होइन माओवादी बिद्रोलाई तह लगाउन  संकटकाल लगाउनुपर्छ भन्ने शेरबहादुर देउवा र संकटकाल लगाउनु हुन्न भन्ने मत राख्ने गिरिजाबाबुबीच संकटकाल लगउने र नलगाउने बिषयमा भएको मतभेद बढदै जाँदा पार्टीले भनेको नमानेपछि कारवाहीमा परेका देउवाले कांग्रेसबाट बिभाजित भएर खोलेको कलस चुनाव चिन्ह भएको नेपाली कांग्रेस प्रजातान्त्रिकमा फेरि आवद्ध हुनपुगे। यसबेला पनि उनले नेपाली काँग्रेसको मूलधारभित्र रहेका आफ्ना धेरै समर्थक, शुभचिन्तकलाई छोडेर प्रजातान्त्रिक कांग्रेसमा गए। राजनीतिमा नेता बुढाथोकी सधैं एकै ठाउँमा रहन सकेनन्, अस्थीरता उनको नियति जस्तै बनिरह्यो।

कुमार दाइको राजनीतिक जीवन

पिता  रघुबीर बुढाथोकी र माता नन्दकुमारी भट्टराई बुढाथोकीका साइला सुपुत्रका रुपमा इलामको सिङ्फिरिङमा जन्मिएका बुढाथोकीले आठ बर्षको उमेरदेखि भारत दार्जिलिङको चौरस्तास्थित वेधिनी स्कुलबाट शिक्षा प्रारम्भ गरेका थिए। त्यसपछि दार्जिलिङकै नर्थ पोइन्टस्थित सेन्ट जोसेफ स्कुलबाट सन १९६२ बाट केम्ब्रिज उत्तीर्ण गरेका थिए। सेन्ट जोसेफ स्कुलमा अध्ययन गर्दा तत्कालीन युवराज श्री ५ वीरेन्द्र एवं राजकुमारहरु ज्ञानेन्द्र र धीरेन्द्र शाहहरु बुढाथोकीका सहपाठी थिए। बुढाथोकी सन् १९६३ मा त्रिचन्द्र कलेजमा उच्च शिक्षाका लागि भर्ना भएका थिए। सानैदेखि अरुको दबाब र यातना सहन नसक्ने बुढाथोकीले त्रिचन्द्र कलेजका एक शिक्षकलाई हात छोडेपछि उनलाई शान्ति सुरक्षाको कारण देखाएर नौ महिनासम्म जेलमा राखिएको थियो।

जेल जीवन ब्यतित गर्ने क्रममा नेपाली कांग्रेसका नेताहरु ओमकार श्रेष्ठ, दुर्गानन्द झा, अरविन्द, श्रीभद्र शर्मा, प्रयागराज सिंह सुवाल, पेशलकुमार पोखरेल, भाउकाजी श्रेष्ठ लगायतसँग भेट भएपछि उनीहरुकै संगतबाट बुढाथोकी नेपाली कांग्रेसको राजनीतिप्रति आकर्षित भएर पछि सक्रिय बनेका थिए।  बिद्यार्थी  आन्दोलनका क्रममा प्राध्यापकमाथि हात छोडेको निहुँमा जेल परेका बुढाथोकी जेलबाट छुट्दा समेत रेस्टिकेट फिर्ता नभएपछि उनको अध्ययन विचैमा रोकियो र उनी झापा फर्किए। त्यसबेलासम्म उनको परिवार इलाम छोडेर झापा बसार्इं आइसकेको थियो।

२०२५ सालमा विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०२७ सालमा नेपाल तरुण दलको सदस्य बने। २०२७ सालमै कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई घरैमा स्वागत गरेका नेता बुढाथोकी २०२८ सालमा बनारसमा भएको नेपाल तरुण दलको अधिवेशनमा सहभागी भए। बनारसबाट फर्किएपछि शान्ति सुरक्षाको कारण देखाउँदै २०२८ सालमा तत्कालीन पञ्च सरकारले जेल हाल्यो। नौ महिनासम्म जेल जीवन विताएर बाहिर निस्किएका नेता बुढाथोकीले २०२९ सालमा दार्जिलिङमा नेपाली कांग्रेसका तत्कालीन सभापति वीपी कोइरालासँग भेट गरेका थिए।

कांग्रेसको राजनीतिमा सक्रिय भएका बुढाथोकी २०३२ सालमा शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च नियुक्त भएका उनले २०३७ सालमा बहुदलको पक्षमा लाग्न प्रधानपञ्चबाट राजीनामा दिई बहुदलको पक्षमा जिल्लाब्यापी अभियानमा सक्रिय भएका थिए। शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च भएका उनी केही समयपछि जिल्ला पञ्चायतको सभापति नियुक्त भए। २०३९ सालमा ७५ रै जिल्लाका सभापतिमध्ये झापा सभापति रहनुभएका बुढाथोकीले तत्कालीन कांग्रेस सभापति वीपी कोइरालाको निधनमा शोक प्रस्ताव पारित गराएका थिए।

२०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका उनले राष्ट्रिय पञ्चायत सदस्य भएपछि सुकुम्बासी आयोगको अध्यक्षको जिम्मेवारी प्राप्त गरे। २०४६–०४७ को बृहत् जनआन्दोलनपश्चात  २०४८ सालको निर्वाचनमा झापा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका उनी पराजित भए। २०५० सालमा नेपाली कांग्रेसमा पुनः प्रवेश गरी केन्द्रीय सदस्य सीके प्रसाईंबाट सदस्यता प्राप्त गरेका उनी २०५१ सालमा पार्टीका तर्फबाट झापा क्षेत्र नं–६ (तत्कालीन) बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भएपनि पराजित भए।

२०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति भएका उनी केही समयपछि केन्द्रीय सदस्यमा मनोनित भए। २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं–४ देखि संविधानसभा सदस्यको उम्मेद्वार भएका उनी मेची अञ्चलबाटै एकमात्र निर्वाचित सांसद भए २०७० सालमा पनि सोही क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भए। दोस्रो कार्यकालमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी समेत सम्हालेका उनी पार्टीको १३औं र १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए।

पार्टीका अग्रज, अनुभवी, जुझारु नेताको निधनले पार्टीलाई नै अपुरणीय क्षति पुगेको छ। जन्मपछि मृत्यु शास्वत भएपनि आफन्त एवं अग्रज नेतृत्वको वियोगले पीडामा रहेका परिवारजनहरु श्रीमती गीता बुढाथोकी, छोराहरु आनन्द, शिशिर, छोरीहरु ममता बुढाथोकी खत्री, कविता बुढाथोकी गिरी, दाजु–भाईहरु नरेन्द्र, मकरध्वज, प्रकाश, अरुण, सुदर्शन उत्तम एवं शोकाकुल सम्पूर्ण परिवारजन तथा पार्टीका नेता कार्यकर्तामा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना छ। ब्रह्मलीन आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली।

(लेखक हुमागाँई नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति, नेपाल प्रेस युनियान झापाको पूर्व अध्यक्ष र केन्द्रीय सदस्य तथा हाल नेपाली काँग्रेस झापाको सचिव हुन्)
 

प्रतिक्रिया