३० दिनमै फिल्म ‘मनसरा’ को ‘इन्डक्ल्याप’

काठमाडौँ। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को छायांकन ३० दिनमा सकिएको छ। फिल्मको छायाङ्कन गत पुष ३१ गतेबाट सुरु भएको थियो। फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ।

पाँचथरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो। फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ।

फिल्म ‘जारी’बाट निर्देशनमा पाइला चालेका लेखक तथा अभिनेता उपेन्द्रको ‘मनसरा’ दोस्रो निर्देशकीय फिल्म हो। फिल्ममा मिरुना ‘मनसरा’ भूमिकामा देखिँदैछिन्।

फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन्। फिल्ममा विष्णकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता छन्।

कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन तथा मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राई संयुक्त कला निर्देशन छ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्। एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ। जी टु वान डिजिटल पार्टनर बनेको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया