रजनीकान्तको पारिश्रमिकः ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैंयाँ

मुम्बई। फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन्। ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ। उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन्।

यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ। दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका छन्। यतिबेला फिल्म वृत्तमा फिल्मको चर्चा सँगै रजनीकान्तको पारिश्रमिकको चर्चा पनि व्यापक छ। समाचार अनुसार रजनीकान्तले यो फिल्मका लागि प्रति मिनेट १ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्। फिल्ममा उनको ‘एक्सटेन्डेड केमियो’ छ।

रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको ४० मिनेट ‘एक्सटेन्डेड केमियो’ छ। यो हिसाबले उनले फिल्ममा केमियो भूमिकाकै लागि ४० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन्।

रजनीकान्त कलिउडका टप पेड एक्टर हुन्। उनी एक फिल्मका लागि १ सय करोड देखि १ सय ५० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन्। उनले लोकेश कनगराजको नयाँ फिल्मका लागि २ सय ५० करोड पारिश्रमिक लिने तयारी गरिरहेका छन्। रजनीकान्तले फिल्म ‘जेलर’को सफलतापछि पारिश्रमिक बढाएको कलिउड वृत्तमा चर्चा छ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया