१० वर्षीया बालिकाको जटिल जटिल मानिएको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर : मोरङको कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारकी १० वर्षीया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल मानिएको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ ।

दुई महिनादेखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट ओच्छ्यानमा बेहोस रहेकी १० वर्षीया दिपिका ऋषिदेबलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा लगिएको थियो । 

बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिनेतर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको चिकित्सकले बताएका छन् ।

‘बिरामीको बुबा आमाले विरामीको अवस्थाको कारण आश मारिसकेका थिए’ उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा.डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याइएको थियो ।

आर्थिक अवस्था कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावकसँग छलफलपछि बिरामीको उपचार थालिएको थियो ।

बिरामीको उपचारमा अस्पतालबाट छुट उपलब्ध गरिएको उनले बताए ।

शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा. प्रमोद चौधरीका अनुसार बालिकाको शरीरको अंग चलाउने दिमागको भागमा ठूलो ट्यूमर पलाएको कारण शरीरको देब्रे भाग कमजोर भएको थियो । 

शल्यक्रियापछि विरामीको अवस्था ठिक भएको छ । देब्रे भाग अहिले अलि कमजोर भएकाले ‘रिहाविलिटेशन’ चलिरहेको चिकित्सकले बताए । विस्तारै सामान्य अवस्थामा आउने उनीहरुको भनाइ छ ।

डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखिरहने, उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै न्यूरोलोजी वा न्यूरोसर्जरीका चिकिसत्सकसँग सम्पर्क राख्नुपर्छ ।

त्यस्ता बिरामीहरुको सिटी स्क्यान गर्न जरुरी हुने उनले बताए । अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित रहेको भन्दै डा. जोनाथानले न्यूरो सर्जरीको सफलता प्रतिशत ९० देखि ९७ प्रतिशतसम्म रहेको उल्लेख गरे ।
 

प्रतिक्रिया