'निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्छ'

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४ औं  महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन् । उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए । थापाले कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘यो अधिवेशन सकिनासाथ हामी अधिवेशनका सबै प्रतिनिधिहरु आआफ्नो घर जान्छौँ । यो अधिवेशनको प्रक्रियामा करिव ९ लाख भन्दा बढी क्रियाशील सदस्यहरु सहभागी हुनुभएको छ र जसले क्रियाशील सदस्यता लिनुभयो, वडामा सहभागी हुनुभयो र विभिन्न तहमा प्रतियोगीहरु छान्नुभएको छ । यो सकिसकेपछि पार्टीलाई सुदृढ बनाउने, बलियो बनाउँछौँ । त्यसपछि हामी पार्टीलाई निर्वाचनमा लिएर जान्छौँ । पार्टी निर्वाचनमा जाँदै गर्दा सबै पार्टीको सदस्यलाई सोध्यो भने निर्वाचन हामी जित्नु पर्छ भन्छन् । अहिले भएको मतदातामा करिव १०/१२ लाख अरु मतदाता थप्नुपर्छ । त्यसका लागि कांग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई काँग्रेसमा आउँआउँ लागोस् ।’

थापाले सफा, पवित्र र निश्चल कांग्रेस शेखर कोइरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया