कांग्रेसमा गगन थापा हार्नुपर्छ 


कुसुम भट्टराई

kusum-bhattarai

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेता गगन थापा महामन्त्री पदमा उठदैछन् । गगनले जित्लान् या हार्लान्, त्यो महाधिवेशन प्रतिनिधिको विवेक र अधिकारको विषय हो । भर्खरको एउटा ठिटोले ‘शेरबहादुर दाई’लाई च्यालेन्ज दिएर बडा तुजुक देखाउँदैछ भन्ने पनि कतिपयलाई लागेको होला र उनीहरु भन्दैछन्, ‘यसपाली गगनलाई हराउनैपर्छ ।’

हो त, कस्तो उत्तम विचार, यसपाली गगन थापालाई हराउनैपर्छ । गगनको अब कांग्रेसमा काम पनि छैन । ‘काम गर्ने मान्छे’को कुनै काम नभएको यो देशमा नेपाली कांग्रेसमा पनि ‘काम गर्ने’ गगनको के काम ? यसपाली हार्नुपर्छ । 

गगनले हार्नुपर्ने कारण अनेक छन् । पहिलो त, मुलुकमा अहिले शाही शासन छैन । २०६२-०६३ मा जस्तो निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था पनि छैन । शाही शासन हुन्थ्यो भने आन्दोलन चर्काउन गगन थापा नभइ हुन्नथ्यो । गगनले नै गणतन्त्रको नारा बुलन्द गर्दै, राज्यद्रोहको मुद्दा खेप्दै, प्रहरीको डन्डा र अश्रु ग्याँस खाँदै सडकमा उत्रेर कांग्रेसको ‘क्रान्तिकारी धार’ जोगाइदिनुपर्थ्यो । 

अहिले त हातमै गणतन्त्रको नौनी घिउ छ । कांग्रेस नेतृत्वको सरकार छ । सरकार चलाउन एक से एक मान्छे छँदैछन् । आन्दोलन र संघर्षको मदानीमा मथेर गणतन्त्रको नौनी निकाल्न पो गगनको खाँचो पर्थ्यो । नौनीका डल्ला चोर्न र हण्डी फोर्न त एक से एक ‘बालकृष्ण’हरु छदैंछन्, कांग्रेसमा । अब गगन नै किन चाहियो ? भोली फेरी आन्दोलन गर्नुपरे गगनलाई पार्टीले संझीने नै छ । हो, आन्दोलनमा गगनलाई नै अगाडि सार्नुपर्छ, अहिले चाहिँ गगन हार्नुपर्छ । 

कांग्रेस जे छ, ठिकै छ । यसलाई राष्ट्रिय राजनीतिको मियो बनाउनु पनि जरुरी छैन । देशको परिवर्तनको ठेक्का सँधै कांग्रेसले लिनुपर्र्छ भन्ने पनि छैन । वर्ष २००७ देखि २०६२ सम्म हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेस पार्टीले अब केही समय आराम गर्नुपर्छ । ‘लोकतन्त्र लोकतन्त्र’ भन्दै चिच्याउन र कराउन पनि अब केही समय बन्द गर्नुपर्छ । कांग्रेस धेरै चुरचुर र फुरफुर गर्नु हुँदैन । लोकतन्त्रको पक्षमा कांग्रेस ‘बढता बोल्दैछ’, अब चुप लाग्नुपर्छ । 

कांग्रेस ‘सेफ जोन’मा बस्नुपर्छ, ‘डेन्जर जोन’को जोखीम मोल्नै हुन्न । ‘सेफ जोन’ भनेको अहिले झैं कम्युनिष्टहरुसँग हिमचिम बढाउने, कुम जोडने, गठबन्धन बनाउने र उनीहरुको कृपाबाट प्रधानमन्त्री, राष्ट्रपति, राजदूत के के पाइन्छ, त्यसमै चित्त बुझाउने हो । ‘कम्युनिष्टसँग मिल्नुहुन्न, तिनले कांग्रेसलाई आफ्नो मूल आदर्श र एजेन्डाबाट भटकाउँछन्’ भन्ने बीपीको मान्यता अब  असान्दर्भिक भइसक्यो । 

कांग्रेस भटकीइसक्यो, अब यसमै सन्तोष मान्नुपर्छ । अब कांग्रेसले आफ्नो स्थापनाकालदेखिको आदर्श, मूल्य मान्यता र एजेन्डाको पछि लाग्नु बेकार छ ।  आदर्श र एजेन्डाभन्दा ठूलो सत्ता साझेदारी हो, पद र पैसा हो । अतः आउँदो चुनावमा कम्युनिष्टसँग गठबन्धन नगरी कांग्रेस एक्लै खडा हुनुपर्छ भन्ने गगन थापाको जुन सोच छ, त्यो बिलकुल वाहियात छ । 

कांग्रेसभित्र केही हदसम्म अझै जिवित क्रान्तिकारी विचार, उर्जा, जोश र जुझारुपनलाई किचिमिचि पारेर मार्नुपर्छ । नयाँ विचार र नयाँ नेतृत्वका आधारमा कांग्रेस पार्टीलाई फेरी पहिलो नम्बरको पार्टी बनाउनुपर्छ भन्ने गगन थापा हार्नुपर्छ । 

gagan thapa

अहिले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा पनि छैन । प्रतिपक्षमा हुँदा पो गगन चाहिन्थ्यो । कम्युनिष्टहरुको दुइ तिहाइ बहुमतको ओली सरकारका स्वेच्छाचारी हर्कतविरुद्ध उभिने मामिलामा कांग्रेस नेतृत्व लाचार भइरहेको बेला संसदमा एकजना गगन थापाले नै कांग्रेसको प्रतिपक्षीे छवी जोगाइदिनुपर्थ्यो। कसैले चुँसम्म नगर्दा गगनका बुलेट वाणीहरुले ओलीको शासन हल्लीन्थ्यो । संसदमा गगनका हरेक अभिव्यक्तिको जवाफ दिन तात्कालीन प्रधानमन्त्री ओली आफै बाध्य हुन्थे । अहिले कांग्रेस प्रतिपक्षमा नभएकाले गगनले धेरै ताउरमाउर गर्नु मनासिव नहोला । देउवाको तर्फबाट ओलीलाई तह लगाउने जिम्मा अचेल पुष्कमल दाहाल र माधव नेपालले लिइसकेका छन् । अब गगनले ‘साइड’ लाग्नुपर्छ, गगन थापा हार्नुपर्छ । 

गगनले पार्टीको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुनुपर्ने भन्दै विचार अघि सारेका रहेछन् । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्ने ‘सामाजिक लोकतन्त्र’को अवधारणा पनि उनले अघि सारेका रहेछन् । लोकतन्त्रलाई लोक कल्याणकारी, सामाजिक न्यायमूलक बनाउनुपर्छ भन्ने कुरा नै बेकार हो । लोकतन्त्रलाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा सुदृढ नै किन बनाउनुपर्यो ? यसको नेतृत्व कांग्रेसले किन लिनुपर्यो ? 

कांग्रेसलाई वैचारिक रुपमा नयाँ दिशा दिनसक्ने पार्टी नै किन बनाउनुपर्यो? कांग्रेसमा विचारकै के मूल्य छ र ? गगनले अघि सारेजस्तो क्रान्तिकारी, परिवर्तनकारी र युगान्तकारी सोचलाई कांग्रेसमा कुनै ठाउँ दिनुहुँदैन । यस्ता सोचहरु त कम्युनिष्टहरुले ल्याइसकेका छन् नी । केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने रेडिमेड नारा आइसकेकै छ, यस्तोमा कांग्रेसले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ ल्याउनुपर्ने दरकार नै किन पर्यो ? 

कांग्रेसले नयाँ विचार र अवधारणा ल्याउने नै हैन । कम्युनिष्टहरुले ल्याएको एजेन्डा र विचारको कांग्रेस ‘फलोअर’ मात्र हुने हो । माओवादी एजेन्डाको ‘फलोअर’ हुँदा कांग्रेसलाई फलिफापै फलिफाप भएको सम्झौं । गिरिजाप्रसाद कोइराला गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबने पनि डा. रामवरण यादवले त्यो मौका पाए । कांग्रेस साँगठनिक र वैचारीक रुपमा देशव्यापी रुपमा कमजोर हुँदै गयो त के भो ? कम्युनिष्टहरुको कृपामा यसले बेलाबेलामा सरकारको नेतृत्व गर्ने अवसर पाइरहैकै छ । सन्तोषम् परम सुखम्, कांग्रेसले यसमा सन्तुष्ट हुन सिक्नुपर्छ । अध्यात्मले पनि सके यसै भन्छ । 

gagan thapa new

अतः विचार, सिद्धान्त र एजेन्डाको फण्डामा कांग्रेस पर्नैहुन्न । यो लफडामा कांग्रेस फँस्नैहुन्न । यो काम कम्युनिष्टहरुले नै गरुन्, कांग्रेसले ‘हाँ मा हाँ’ मिलाए हुन्छ । आखिर कांग्रेससँग लोकतन्त्रको नारा छँदैछ, बीपीको दुहाइ पनि छँदैछ । बिपी, गणेशमान सिंह, सुवर्णशमसेर, शैलजा आचार्य, गिरिजाबाबु र किसुनजीको फोटो टाँग्न पाइएकै छ । ‘चार तारा’ साथमा भएपछि कांग्रेसलाई नयाँ विचार, सिद्धान्त र कार्यदिशा नै किन चाहियो ? कम्युनिष्टको फलोअर हुनुमै फाइदा देखिदा देखिदै गगनले झैं ठूला कुरा गरेर घाटा मोल्नु हुँदैन । नेपालमा कम्युनिष्टहरु फुटीरहन्छन्, कांग्रेसलाई अहिले झैं सत्ताको चिठ्ठा परिरहन्छ । कांग्रेसलाई आउँदा दिनमा पनि कम्युनिष्ट एजेन्डाको जालमा पार्नुपर्छ, गगन थापा हार्नुपर्छ । 

हामी सनातन वैदिक धर्म र ज्योतिषशास्त्रमा विश्वास गर्छौं । ज्योतिषीले कांग्रेसका एक नेतालाई सातौं पटक प्रधानमन्त्री हुने भविश्यवाणी गरेका छन् । हालसम्म यी ज्योतीषीको भविश्यवाणी फेल खाएको छैन । कांग्रेसको ‘विशेषता’ भनेकै कुनै एक व्यक्तिलाई बारम्बार मुलुकको प्रधानमन्त्री बनाउनु हो । एउटै पिताजी कृष्णप्रसाद कोइरालाका तीन सन्तान मातृका, बीपी र गिरीजा प्रधानमन्त्री भए । यो एउटा रेकर्ड हो । गिरिजाबाबु धेरै पटक प्रधानमन्त्री भए, यो पनि अर्को रेकर्ड हो । शेरबहादुर देउवाले धेरै पटक प्रधानमन्त्री बन्ने गिरिजाबाबुको रेकर्ड तोडिसकेका छन् । कांग्रेसले यो रेकर्डलाई आगामी दिनमा पनि कायम राखिरहनुपर्छ । यो नै कांग्रेसका लागि गर्व गर्ने विषय हुनुपर्छ । एउटै व्यक्तिलाई बारम्बार प्रधानमन्त्री बनाउने मिसन सफल पार्नुपर्छ, यसपाली गगन थापा हार्नुपर्छ ।  

कांग्रेसमा नेतृत्व परिवर्तन, पुस्तारन्तरणजस्ता कुरा गर्दै युवा नेताहरु ‘बढता बोल्दैछन्’ । कांग्रेसमा ६० वर्ष कटेपछि मात्र कुनै नेता ‘युवा’ हुने भएकाले पुस्तान्तरणको माग नै ‘वाहियात’ हो । शेरबहादुर देउवाको बोली अहिलेसम्म जसोतसो बुझीएकै छ । रामचन्द्र पौडेलको शक्रियता र विचारको ‘कागती’ अझै रसीलै छ । पौडेलसँग कागती र खुर्सानी छ । यसले कांग्रेसलाई अपशकुन र गलत दृष्टिबाट बचाएको छ । युवा पुस्तासँग यस्तो कागती र खुर्सानीको ‘टोटका’ नै छैन । देउवासँग ज्योतिषी र अनेक बाबाहरुको आशिर्वाद छ । युवापुस्तालाई बाबाहरुको आशिर्वाद खै ?  

कांग्रेसका युवाले अब पाखुरा र घाँटीमा ताबिज लगाउनुपर्छ । कागती र खुर्सानीको टोटका झुण्डयाउनुपर्छ । बाबाहरुको शरणमा पर्नुपर्छ । कांग्रेसलाई भगवान भरोसे छाडनुपर्छ । ‘भगवानको प्यारो हुने दिन’ कुरीरहेका बुढा नेताहरुलाई लम्पसार परेर ढोग्नुपर्छ । कांग्रेसलाई बुढाहरुको ‘जगर्स क्लब’ बनाउनुपर्छ । नयाँ विचारको कुरा गर्नु हुँदैन, पुरानै विचारको माला जप्नुपर्छ । जसले पुस्तान्तरणको कुरा गर्छ, उसलाई साम, दाम, दण्ड, भेद अपनाएर क्रपझ्याप् पार्नुपर्छ, यसपाली गगन थापा हार्नुपर्छ । 

प्रतिक्रिया