कथा सांस्कृतिक धरोहरको

९ लाख चाँदीका असर्फी खर्चेर बनेको थियो जानकी मन्दिर


जनकपुर। श्रध्दालुहरुले ३५ हजार दीप प्रज्ज्वलन गरेर जानकी माताको आराधना गर्दै लक्ष्मी पूजाको उत्सव मनाए। आईतबारको साँझ जनकपुरधामको जानकी मन्दिर दीप र फूलको रंगीन दृश्यमा हराएको थियो।  

जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले लक्ष्मीपूजाको साँझको वर्णन गर्दै अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा मन्दिरमा दीप प्रज्वलन गर्ने योजना सुनाए। 

जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले भव्यताका साथ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गरेको देखेर छोटे महन्थ दंग छन्।

यस्तो छ जानकी मन्दिरको इतिहास

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ। नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमूना मानिन्छ।

प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ। 

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ, सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो। 

मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ। राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्। 

प्रत्येक महिनाका पूर्णिमामा हजारौं श्रद्धालु भक्तजन सहभागी हुन्छन्। धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम।

प्रतिक्रिया