एसिया कप क्रिकेटमा आज भारत  र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कपको दोस्रो खेलमा आज बलिया दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ ।

सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानीमा हुने खेलमा दुबै टोलीमा रहेका विश्वस्टार बलर र ब्याटरको प्रर्दशन कडा प्रतिस्पर्धात्मक हुने मानिएको छ । 

भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ ।

भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् । एसिया कप र विश्वकपमा मात्रै यी दुई देशबीचको भेट हुँदै आएको छ । त्यसैको कारण यी दुई देशबीचको खेललाई झन महत्वका साथ हेर्ने गरिन्छ ।

भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो ।
 

प्रतिक्रिया