पर्दाभित्रको राजनीति

‘भूतपूर्व प्रधानमन्त्री क्लव’बाटै नयाँ प्रधानमन्त्री!

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नयाँ पुस्ताको नेता देशको प्रधानमन्त्री भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। अझ उनी सके आफू स्वयं नभए आफ्नो पुस्ताको नेता प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता ठान्छन्। 

भूतपूर्व प्रधानमन्त्रीहरु नै पटक पटक नयाँ प्रधानमन्त्री भएर दोहोरिने परम्परा तोड्न चाहन्छन् गगन। राजनीतिक पध्दति परिवर्तन भएपनि बदलिन नसकेको यो परम्परासँग गगनमात्र होइन समकालीन पुस्ताको नेपाली मतदाता पटक्कै सहमत छैन। कसैलाई पनि यो परम्परा सही लागेको छैन। जस्तोसुकै क्रान्तिको नारा लगाएपनि कुनै पनि दलले भूतपूर्व प्रधानमन्त्री नै नयाँ सत्ताको नयाँ प्रधानमन्त्री भएर दोहोरिने परम्परा अन्त्य गर्न चाहेको देखिँदैन। बरु स्वस्थ्य अस्वस्थ्य गठबन्धन गरेर भएपनि प्रधानमन्त्री बन्ने कसरत सबै दलले अवलम्वन गर्दै नै आएका छन्। 

नेपाली कांग्रेस यसमा अग्रपंक्तिमा उभिएको छ। यसका सभापति शेरबहादुर देउवा सातौं पटक प्रधानमन्त्री हुने सपना साकार पार्न मरिमेटेर लागिपरेका छन्। उनले जुट्ने र फुट्ने दीर्घ रोगले ग्रस्त वामपन्थी दलहरुसँग आलोपालो गरेर सत्ता गठबन्धन गर्दै प्रधानमन्त्री बन्ने सपना साकार पार्दै नै आएका छन्। कागताली पर्योभने देउवा अझै प्रधानमन्त्री बन्ने दौडमै देखिन्छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यस्तै दौडमा देखिन्छन्। आफ्नै अहंकारको चोटले बहुमतको सरकार गुमाएका ओली तत्कालै सत्तामा फर्किने सम्भावना नदेखिएपनि अनेक अड्को थापेर संसदमा सरकार विरुध्द दवाव बढाउन प्रयाश गरिनै रहेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त सत्ता कब्जामा अब्बल दर्जाका नेता ठहरिएका छन्। ठूला दललाई कज्याएर राजकाजको लगाम हातमा लिन सफल दाहाल वामपन्थी मोर्चाको नयाँ पासा फालेर एमाले लोभ्याउँदै र नेपाली कांग्रेसलाई तर्साउँदै सत्तालाई निरन्तरता दिन प्रयाश गरिरहेका छन्। 

पूर्व पञ्चको ह्याङ्गओभर छुट्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्वमा नयाँ पुस्ताको नेता पाएपनि सत्ताका लागि पुरानै प्रवृत्ति कायमै रहेछ भन्ने कुरा त्यस दलका अध्यक्ष राजेन्द्र लिङ्गदेनले यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सत्ता साझेदारी गरेर पुष्टि गरिदिएका छन्। 

अरु नवोदित दलहरुले अगाडि आउने परीक्षाहरुमा उतिर्ण हुन बाँकी नै छ। 

यस्तो राजनीतिक पृष्ठभूमिमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चाहेजस्तो नयाँ पुस्ताको नेता प्रधानमन्त्री बन्न पाउने परिस्थिति कसरी बन्न सक्ला भन्ने प्रश्न अनुत्तरित छ। तर यो असम्भव नै चैं होइन। यसका लागि नयाँ पुस्ताका नेताले आआफ्ना दलहरुभित्र परम्परा बदल्न एकसूत्रीय दवावको राजनीति गर्न आवश्यक देखिन्छ। 

देशका प्रमुख मानिएका तीन दलहरु नेपाली कांग्रेस सात पटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर बसेका ७८ वर्षिया वृध्द देउवालाई नेतृत्वमा बोकेर बसेको छ। सबै सीमाहरु भत्काएर जीवनभर अध्यक्ष बन्ने ढोका खुला राखेर एमाले ७२ वर्षका वृध्द ओलीलाई शीरमा राखेर हिँडिरहेको छ भने सत्तरी (६९) टेक्नै लागेका दाहालको मुखलाई नै कानून मान्ने ‘फलामे अनुशासन’ मा माओवादी केन्द्र परिचालित छ। यी तिनै दलका मुखिया पध्दतिभन्दा पदलाई प्रिय ठान्छन् र मान्छन् पनि भन्ने कुरा स्वयंसिध्द तथ्य हो। युवा पुस्ताका नेता यिनलाई चुनौति दिन असफल भैरहेका छन्।

यो राजनीतिक परम्परामा महामन्त्री थापाले केही जोखिम लिन खोजेको देखिन्छ। संसदीय दलको नेताको निर्वाचनमा सभापतिसँग स्वस्थ प्रतिष्पर्धा गरेर थापाले परिवर्तनको सोचलाई ठोस आकार दिएका छन्। त्यसलाई त्यही निर्वाचन परिणामसँगै बिर्सन र सेलाउन नदिएर उनी निरन्तर नेतृत्व परिवर्तनको आवश्यकता प्रष्ट्याउँदै देश दौडाहा पनि गरिरहेकै देखिन्छन्। 

हालै उनकै पहलमा पार्टीका जिल्ला सभापतिहरुको भेला गरेर पार्टीले नेतृत्व परिवर्तनको आवश्यकता अनिवार्य ठानेको भन्ने सन्देश प्रवाह गर्न उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सफलता पाएको चर्चा पनि चलिरहेको छ। 

साउन २ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाईएको छ। असार २७ का लागि बोलाएर सरेको यो बैठकमा पार्टीको संस्थापन पक्ष महामन्त्रीहरुको सक्रियता विरुध्द मोर्चावन्दी गरेर प्रस्तुत हुने तयारीमा रहेको बुझिएको छ। राजधानीमा पार्टीको बहुसंख्यक जिल्लाका सभापति भेला भएको अवसरमा उनीहरुलाई वेवास्ता गर्दै मुख देखाउन पनि उपस्थित नभएका सभापति देउवाको बचाउ गर्न संस्थापन पक्षले महामन्त्रीहरुलाई आलोचनाको केन्द्रमा तान्ने गृहकार्य गरिरहेको बताईन्छ। 

गएको शनिबार महामन्त्री थापाले काठमाडौंमा एक कार्यक्रमलाई सम्वोधन गर्दा आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने उदेश्य पूरा गर्न सक्रिय भएर लाग्ने बताउँदै नेता बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने ठोकुवा पनि गरेका थिए। 

महामन्त्री थापाले व्यंगात्मक शैलीमा भनेका थिए, ‘नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुन्छ, तर अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्छ।’ थापाले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताउँदै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने बताए।  

‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा हुन्छ’ भन्दै महामन्त्री थापाले ‘यो नभए यो भूतपूर्व प्रधानमन्त्री नै फेरि प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन की नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ। किनभने प्रधानमन्त्री बन्नेकुरा भतपूर्व क्लवको परम्परा जस्तो भयो।’ 

अरु पार्टीले के गर्छन् त्यो उनीहरुको आन्तरिक कुरा भए पनि आफू कांग्रेसमा भएकाले यसलाई बदल्ने प्रयास गर्नैपर्ने थापाको भनाई छ।  

महामन्त्री थापाको भनाई छ, ‘म त क्लियर छु, विधि भित्रै रहेर यो कुरा गरिरहेको छु। म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो। मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ। तर म थाकेको छैन, हारेको छैन, नेपाली काँग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु। त्यो बदलिनपर्छ। बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ। अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ।’

१४ औं महाधिवेशनको झण्डै दुइ वर्ष (२० महिना)पछि बस्न लागेको पाँचौं कार्यसमिति बैठकले नेपाली कांग्रेसको नीति कार्यक्रम र अरु राष्ट्रिय महत्वका बिषयमा बहस गर्ने अपेक्षा गरिएको छ। तर औपचारिक एजेन्डा भने निश्चि गरिएको देखिँदैन। आन्तरिक सत्ता राजनीतिमै अधिकांश समय खर्चिंदै आएको कांग्रेसले नेतृत्वको कार्यक्षमतामाथि उठिरहेको प्रश्नहरुको कसरी सम्वोधन गर्छ भन्ने जिज्ञासा राजनीतिक क्षेत्रमा देखिन्छ।  
 
 

प्रतिक्रिया