अर्थमन्त्री महतमाथि खनिए कांग्रेस जिल्ला सभापति

'पशुपतिको साँढे जस्तो भए अर्थमन्त्री'

काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक अर्थमन्त्री प्रकाश शरण महत केन्द्रित हुनपुगेको छ। सभापतिहरुमात्र होइन मन्त्रीपरिषदका सदस्य समेतले मन्त्री महतमाथि पार्टीभित्रको गुटगत आग्रह राखेर पक्षपात गरेको दोष लाएका छन्। 

युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले अर्थमन्त्री महतले गुट नमिलेका कारण बजेट कटाएको आरोप लगाए। उनले मन्त्रीहरुबीच नै समन्वय नभएको भन्दै बजेटमा ठूलो असन्तुष्टि रहेको चर्चा गरेका थिए।

मन्त्री लिम्बूले आफू मन्त्री हुँदा पनि जिल्लामा बजेट लैजान नसकेकोमा दुखेसो पोखेका थिए। मन्त्री लिम्बू नेता शेखर कोइराला निकट मानिन्छन्। उनी नेपाली कांग्रेसको मोरङ्ग जिल्ला सभापति पनि हुन्।

अर्थमन्त्री महतमाथि सबैको गुनासो

बजेट वितरण गर्दा पूर्वाग्रह राखिएको भनेर सबैजसो सभापतिले अर्थमन्त्री महतको आलोचना गरेका छन्।

धादिङ जिल्ला सभापति एवं सांसद रामनाथ अधिकारीले पनि जिल्लाले बजेट नपाएको भन्दै आफू कुन मुख लिएर जिल्ला जाने भन्दै दुःख व्यक्त गरेका थिए। उनले बजेट आएपछि जनतामा निराशा छाएको उल्लेख गर्दै भने, ‘बजेटमा पक्षपात छ। ९० किलोमिटर बाटोको लागि बजेट ५ लाख विनियोजन भयो।’

हिजो पहिलो दिनको बैठकमा जिल्ला सभापतिहरुले सरकारमा सहभागी आफ्नै पार्टीका मन्त्रीहरुको चर्को आलोचना गरे। विशेषगरी अर्थमन्त्री महतको चर्को आलोचना गरिएको थियो। धेरैजसो जिल्ला सभापतिहरुले आफ्नो जिल्लामा बजेट नदिँदा कुन मुख लिएर मतदाता सामु जाने भन्दै आक्रोश पोखेका थिए।

आफ्नै दलका नेता अर्थमन्त्री भए पनि आफूहरुको जिल्लालाई बेवास्ता गरिएको भन्दै सभापतिहरुले गम्भीर आपत्ति जनाएको सहभागी एक जिल्ला सभापतिले सुनाए। 

सहभागी अधिकांश जिल्ला सभापतिहरुले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाएका थिए। अर्थमन्त्री महतले आफ्नो जिल्लालाई मात्र बढी प्राथमिकता दिएको भन्दै केही महत्वपूर्ण नेताका जिल्लालाई पर्याप्त बजेट विनियोजन गरेको भनेर जिल्ला सभापतिहरुले आक्रोश पोखेका हुन् । 

दोलखा जिल्ला सभापति बर्मा लामाले पनि बजेटमा स्वेच्छाचारी गरेको आरोप लगाएका थिए। अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठले अर्थमन्त्रीले भेटसमेत नदिएकोमा गुनासो गरे। श्रेष्ठको आरोप थियो, ‘पशुपतिको साँढे जस्तो भए अर्थ मन्त्री।’

अछामका सभापति पुष्पबहादुर शाहले पनि केन्द्र र प्रदेश दुवैतिर मन्त्रीहरुले बजेट एकलौटी गर्दा जिल्ला जाने अवस्था नभएको भनेर सिकायत गरे। 

बाजुरा जिल्ला सभापति रामसिंह रावलले बजेटको विषयमा असन्तुष्टि जनएका थिए।

 महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको जिल्ला सभापति बैठकमा रुपान्तरणको खाका के हो भनी सोधिएको थियो। 

सभापति शेरबहादुर देउवाले पार्टीलाई क्रियाशील नबनाउँदा संगठन शिथिल हुँदै गएको निष्कर्ष निकालेर महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले यो बैठक बोलाएका हुन्। यसकै दवाव परेर सभापति देउवाले पदाधिकारीहरुसँग परामर्श गरेर यही २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।

पटक पटक बैठक बोलाउन महामन्त्री थापाले आग्रह गर्दासमेत देउवाले बेवास्ता गरेपछि जिल्ला सभापतिहरुलाई छलफलमा बोलाईएको बताईएको छ।  

महामन्त्रीहरुले सभापति बैठक बोलाएपछि केन्द्रीय सभापति देउवाको मौनता भंग गरेको बताईन्छ। देउवाको वर्तमान कार्यशैलीमै अड्किएर रहने होभने २०८४ को निर्वाचनमा पार्टीको अवस्था अझ खस्कने भन्दै महामन्त्री थापाले जसरी पनि काँग्रेसलाई रुपान्तरण गरेरै छाड्ने बताउँदै आएका छन्।

जिल्ला सभापतिहरुको बैठक आज पनि जारी छ। हिजो पार्टी मुख्यालय सानेपा वीपीनगरमा सुरु भएको बैठक ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य १८ जना केन्द्रीय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेको आयोजकले बताएका छन्। 

हिजोको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज समय पाएका छन्। जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ।

पार्टीको पछिल्लो १४ औं महाधिवेशनपछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो। बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ।

बैठक आजै सकिने जनाइएको छ। 


 

प्रतिक्रिया