सभापति भेलाले तर्सिएर केन्द्रीय समिति बोलाउन वाध्य देउवा

काठमाडौं। महामन्त्रीहरुले जिल्ला सभापतिहरुको भेला बोलाएको थाहा पाएपछि दवाव महसुश गरेका सभापति शेरबहादुर देउवाले यही २७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्। पार्टीलाई गतिहीन बनाएको निष्कर्ष निकालेर देउवामाथि दवाव दिन जिल्ला  सभापतिहरुको भेला बोलाएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले गुटगत नभई सिंगो पार्टी संगठनलाई जागरुक तुल्याउन सभापति भेला बोलाएको दावी गरेका छन्।

काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरुले बिहीबारको छलफलमा पार्टीका गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्।

केन्द्रीय कार्यालय सानेपामा भेला भएका जिल्ला सभापतिहरुले पार्टीका गतिविधिहरुमा शिथिलता आउन थालेको भन्दै पुनःजागरण  गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिएका छन्।

सभापतिहरुले पार्टी रुपान्तरणका कुरासमेत उठाएका छन्। महामन्त्रीहरुसँग उनीहरुले रुपान्तरणको खाका के हो भनी प्रश्न गरेका छन्।

रुपान्तरण कसरी गर्ने, भेला गुटगत हो कि पार्टीको सम्रग रुपान्तरणका लागि हो भनेर उनीहरुले महामन्त्रीहरुसँग प्रश्न गरेका थिए। 

कांग्रेस चलायमान नभएको भन्दै महामन्त्री गगन थापाले नै यो बैठक बोलाएको बुझिएको छ। यो बैठक बस्ने भएसँगै कांग्रेस सभापति देउवाले पदाधिकारीहरुलाई बोलाएर आगामी २७ गते केन्द्रीय कार्यसमिति बैठक डाक्ने निर्णय गरेका थिए।

पटक पटक बैठक डाक्नका लागि महामन्त्री थापाले आग्रह गर्दासमेत देउवाले बेवास्ता गरेपछि जिल्ला सभापतिहरुलाई भेला गरेर प्रत्यक्ष दवाव दिने रणनीति बनाएका थिए। 

उनले सभापतिहरुलाई जिल्लाको क्रियाशील सदस्यतादेखि नवीकरण र अभिलेखीकरणको सम्पूर्ण विवरण पेश गर्नसमेत पत्र काटेका थिए । 

महामन्त्रीहरुको यो कदमले शिथिल भएर बसिरहेको नेतृत्वलाई झक्झक्याएको सहभागी सभापतिहरुको बुझाई छ। अहिलेकै शैलीमा अगाडि जाने हो भने २०८४को निर्वाचनमा पार्टीको अवस्था अझ खस्कने भन्दै महामन्त्री थापाले जसरी पनि कांग्रेसलाई रुपान्तरण गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका छन्। 

यो बैठकमा पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषयमासमेत छलफल भएको बताईएको छ।

प्रतिक्रिया