उपनिर्वाचन: उधारो मन्त्री बनाउँदै दाहाल र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मतदातालाई मन्त्री पद उधारो उपहार दिएर आफ्नो उम्मेदवारको पक्षमा मतको यचना गरिरहेका छन्। गठबन्धन दलका मुख्य दुई नेता दाहाल र देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउँछौं भनेर निर्वाचन प्रचार सभामा भेला भएका मतदातालाई एकै ठाउँ उभिएर आश्वासन दिएका हुन्।

Tanahuतनहुँको निर्वाचन क्षेत्र १ को डुम्रेमा बुधबार आयोजित प्रचार सभामा बोल्दै दाहाल र देउवाले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गर्दै जिताएर पठाए मन्त्री बनाउने उधारो आश्वास दिएका थिए।

यसअघि निर्वाचन सभालाई  सम्वोधन गर्दा देउवाले पनि मतदातालाई उनीहरुले जिताएको उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन दिएका थिए।

तनहुँको यो क्षेत्रमा माओवादी केन्द्र र नेपाली कांग्रेस सहितको गठबन्धनका तर्फबाट गोविन्द भट्टराई साझा उम्मेदवार छन्। त्यसैगरी भर्खरै नेपाली कांग्रेससँग अलग भएर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका स्वर्णिम वाग्ले पनि उम्मेदवार छन्। एमालेले नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।

प्रधानमन्त्री दाहालले, ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो, अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु, भनेर मतदातालाई आश्वासन दिएका थिए।

यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

प्रधानमन्त्री दाहालले, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर मैले यहाँ भनेको थिएँ। मेरो भनाइ खेर गएन, उहाँ महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो’ भनेर आफ्नो आश्वासन प्रति विश्वास दिलाउने प्रयाश गरेका थिए।

‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ,’ उनले भने। गोविन्द भट्टराई त्यागको प्रतीकका रूपमा परिचित रहेको उनको भनाइ थियो। ‘त्याग र तपस्याको कीर्तिमान बनाउनुभएको योग्य उम्मेदवार गोविन्द भट्टराई’ भन्दै मतदाताहरूले कुनै किसिमको पनि द्विविधा नराख्न दाहालले आग्रह गरेका थिए।
 
 

प्रतिक्रिया