उपनिर्वाचन तनहुँ

कांग्रेस र गोविन्द जोशीको वार्ता भंग

काठमाडौं। सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा उपयोग गर्न मात्र आफ्नो कार्बाही फुकुवा गरेको निष्कर्षमा पुगेका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको संवाद अन्त्य भएको घोषणा गरेका छन्।

लामो समय पार्टीको साधारण सदस्यसमेतबाट निलम्वनमा रहेका नेता जोशीले सभापति देउवाले ठोस बिषयमा संवाद नगरेर  अल्मल्याउँदै झुलाउने व्यवहार गरेको भन्दै  बुधबार विज्ञप्ति नै प्रकाशित गरेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका छन्।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौं,’ जोशीले विज्ञप्तिमा भनेका छन्, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं।’

वैशाख १० मा हुनगैरहेको उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले नेता जोशी र चितवनका नेता बिकास कोइरालाको निलम्वन फुकुवा गरेको थियो। तनहुँ र चितवनमा पनि उपनिर्वाचन हुँदैछ, जसमा जोशी र कोइरालाको महत्वपूर्ण मत समूहलाई उपयोग गर्ने रणनीति अनुसार सभापति देउवाले उनीहरुमाथिको कार्वाही फुकुवा गराएका थिए। गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट कारबाही फुकुवा गरिएको थियो।

त्यसपछि कांग्रेस र जोशी समूहबीच वार्ता भइरहेका थिए। जोशीका छोरा दीपकराजले केहि दिनअघि सभापति देउवासँग भेटेर कुराकानीसमेत गरेका थिए।

‘पार्टीबाट विभिन्न कारणले अलगिएका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔं भन्ने हाम्रो धारणा थियो,’ जोशीले भने, ‘तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने कांग्रेस नेतृत्व यो बृहत कुरामा सहमत हुने कुरै भएन। त्यसैले उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो।’

नेता जोशीले आफ्ना समर्थकलाई स्वतन्त्र रुपमा मतदान गर्न सल्लाह दिएका छन्। नेपाली कांग्रेससँग कुराकानी नमिलेकाले खास उम्मेदवारलाई नै समर्थन गर्न कोही पनि वाध्य नभएको जोशी समूहको भनाई छ।

भर्खरै नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा तनहुँबाट प्रतिष्पर्धा गरिरहेका स्वर्णिम वाग्लेले जोशी समूहको मत पाउने सम्भावना रहेको जानकारहरुको बुझाई छ।

‘हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौं। तनहुँमा हामीहरू कुनै दल विशेषको सदस्य नभएकोले स्वतन्त्र छौं,’ जोशी भन्छन्, ‘कांग्रेसले उम्मेदवारप्रति गरेको छलकपट निर्वाचन परिणामपछि स्पष्ट हुनेछ। यसबारे हाम्रो कुनै टिप्पणी छैन। २०४७ सालको निर्वाचनपछि धेरै इमान्दार साथीहरू पार्टीबाट अलगिएर बसेका छन्, कांग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न सबैको सहयोग खाँचो छ भन्ने कुरा हामीले महसुश गरेका छौं।’ 

जोशीले मतदान गर्दा सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गरेर मतदान गर्न पनि आफ्ना समर्थकलाई सल्लाह दिएका छन्।  
 

प्रतिक्रिया