सप्तरीमा हारेका उपेन्द्र यादवलाई बारामा कांग्रेसले सघाउने

काठमाडौं। गत प्रतिनिधिसभामा सप्तरीमा नराम्ररी हारेका उपेन्द्र यादवलाई बारामा भने नेपाली कांग्रेसले सहयोग गर्ने भएको छ। प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष यादवलाई सघाउने कांग्रेसले निर्णय गरेको छ।

आज आईतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बारा-२ मा जसपाका नेता उपेन्द्र यादललाई सघाउने निर्णय गरेको हो। जसपाको अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी १ बाट जनमत पार्टीका नेता सीके राउतसँग भारी मतान्तरले पराजीत भएका थिए।

बारामा नागरिक उन्मुक्ति पार्टीले शिवचन्द्रप्रसाद कुसवाहालाई उम्मेदवार बनाउने भएको छ।

यसैगरी उपनिर्वाचन हुन लागेका अन्य दुई क्षेत्रमा भने यसअघि नै कांग्रेसले उम्मेदवार तय गरिसकेको छ। तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रमेश खरेललाई उम्मेदवार बनाउने तय गरेको छ। उनी यसअघि मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-६ मा पराजित भएका थिए।  

तनहुँ-१, चितवन-२ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ। त्यसका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
 

प्रतिक्रिया