समाचार टिप्पणी

प्रचण्ड र देउवाका प्यारा पूर्णबहादुर

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पन्छिन सिपालु नेता भनेर चिनिन्छन्। नियुक्ति, सरुवा बढुवा र अवसरको खोजी गर्दै भनसुन गरिदिन आग्रह गर्दै आफ्नो निवासमा  पुग्ने जोकसैलाई उनी आफू निर्णायक स्थानमा नरहेको स्पष्टीकरण सुनाउँछन्, अनि घुमाउरो र सांकेतिक शैलीमा अरुलाई दोष दिएर उम्किन र पन्छिन चाहन्छन्। उनको चतूर कार्यशैली यस्तो छ कि आफूले गराउनै पर्ने काम अरुकै हातबाट फार्से गरेर सोझो आरोप र आक्रोशबाट छलिन्छन्। भेषभूषा र जीवनशैलीले ‘आदर्शवादी नेता’ भनिने गरेका पूर्ण बहादुर खड्का नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) लाई राजनीतिक गुरु मान्छन्। किशुनजीको जन्मजयन्तीमा बाँडेगाउँ पुगेर उनको पूर्णकदको शालीकको पाउमै माथा टिकाउँछन् पूर्णबहादुर। बेलाबखत गैरहन्छन् बाँडेगाउँ र सामाजीक सञ्जालमा ताजा ताजा तस्बिर प्रकाशित गरेर अरुलाई थाहा पनि दिईरहन्छन्। 

पूर्णबहादुर खड्का भर्खरै उपप्रधानमन्त्री नियुक्त भएका छन्, रक्षामन्त्रालय समेत सम्हाल्ने गरी। ‘उप’ त पक्का नै थियो, रक्षा नै रोजेर खाएका हुन् उनले। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयको चाङबाट एउटा मन्त्रालय रोज्न भने पछि पूर्णबहादुरले रक्षा

PBK 2

रोजे। अरुले खोजेर भिडेर भिडाएर जे पाए त्यही मन्त्रालय लिए तर उनले चैं रोजेरै लिए।

किन पूर्णबहादुर खड्काले रक्षा नै रोजे त? यसमा उनको प्रष्ट भनाई छः ‘वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु छ्।’ त्यसका लागि उनले यो मन्त्रालय रोजेर लिएका हुन्। आफूले रक्षामन्त्री रोज्नुको कारण थप प्रष्ट पार्दै उनी भन्छन्– ‘प्रधानमन्त्री र सभापतिजीले मलाई गृह र अर्थको टुंगो लागेपछि, अब १९ वटा मन्त्रालय बाँकी छन्, पूर्णजी तपाईं त्यसमध्ये कुन छान्ने हो सोचेर जवाफ दिनुस् भनेर १९ वटा मन्त्रालयको छनोटको सौभाग्य पाएको छु। त्यो भन्दा ठूलो कुरा के हुन्छ।’ 

अझ उनको व्याख्या यस्तो छ– ‘ती मन्त्रालयहरू अध्ययन गरेँ। मुलुकको सन्दर्भमा, सुरक्षाको सन्दर्भमा, अहिले नेपालको सामरिक भूमिको महत्व बढ्दै गएको सन्दर्भमा, मैले मुलुकको सुरक्षा, राष्ट्र नीतिको निर्माण, कार्यनीत–रणनीतिको निर्माण र नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएको मन्त्रालय र समग्र रूपमा सबैभन्दा जिम्मेवार सबैभन्दा ठूलो, सबैभन्दा विशाल मन्त्रालय मैले रक्षा मन्त्रालय देखेँ र त्यसपछि मैले नेताहरूलाई गएर भनेँ।’

सूचना तथा सञ्चार र गृहको जिम्मेवारी सम्हालीसकेका खड्काले यसपाली नेपाली कांग्रेसको टोली नेता भएर सरकारमा प्रतिनिधित्व गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनपछि अचानक भत्किएको पुरानो पाँचदलीय गठबन्धनलाई फेरि साविककै अवस्थामा फर्काउन सफल भएको भनेर पूर्णबहादुर खड्काले त्यसको निर्णायक भूमिका आफ्नो रहेको अर्थ लाग्नेगरी सामाजीक सञ्जाल र सञ्चारमाध्यममा प्रचार गरेका थिए। माओवादी अध्यक्ष दाहाललाई एमाले अध्यक्ष केपी ओलीका हातबाट फुत्काएर नेपाली कांग्रेसको काखमा बसाएको जस लिन पछि नपरेका उनलाई दाहाल र देउवाले अरुलाई भन्दा ज्यादा काखी

PBK 1

च्यापेको चर्चालाई पछिल्लोे मन्त्रीपरिषद विस्तारले पुष्टि गरिसकेको छ।

लालीगुराँसको फूलसँग विशेष प्रेम छ उनको। यसको खास कारण खुलाउँदैनन् उनी। तर धेरैजसो फेसबूक स्टाटसमा यो फूल छुटाउँदैनन् उनी। कुरा आदर्शका गर्छन् तर कानभन्दा माथि चढ्नेगरी माला लाउँदा अप्ठेरो पनि मान्दैनन्। सुकिलोमुकिलो चिटिक्क बन्न रुचाउँछन्, कामचलाउ पहिरन छुँदैनन्।

सभापति देउवा र आरजू देउवाका विश्वासिला मित्र मध्ये पनि बढी विश्वासिला मानिन्छन् पूर्णबहादुर खड्का। देउवा दरबारमा गयल नपर्ने प्रकाशशरण महत, बालकृष्ण खाँड, उमेश श्रेष्ठ, बिनोद चौधरी, मोहनबहादुर बस्नेत लगायतका नेताहरुमा खड्का नम्बर एकमै गनिन्छन्।

भनिन्छ, खासमा  पूर्णबहादुर खड्का सभापति देउवाका विशेष राजनीतिक सल्लाहकार नै हुन्। राजनीतिक संकटका बेला यिनले महाभारतमा सञ्जयले जस्तो भूमिका निर्वाह गरेर देउवालाई सघाउँदै आएका छन्। कांग्रेसका चतुर नेता मानिएका डाक्टर मिनेन्द्र रिजाललाई यसपटक प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नबाट वञ्चित गरिएपछि पूर्णबहादुरले सञ्जयको भूमिकामा ज्यादा मेहनत गर्नुपरेको निकटस्थ नेताहरु सम्झन्छन्।

बूढानिलकण्ठ मन्दिर नजिकै बसोबास गर्ने सभापति देउवासँगको घनिष्ठतालाई सहज हुनेगरी खड्का पनि त्यही ओरालो परेको भूगोलको पुछारतिर बस्छन्। नेपाली कांग्रेसको हस्तिनापुर मानिँदै आएको बूढानिलकण्ठ दरबार धाउन उनलाई यहाँबाट पायक पर्छ। 

प्रतिनिधिसभामा तेस्रो स्थानमा रहेको माओवादी दललाई सरकारको नेतृत्वमा विराजमान गराएर गुमेको सत्ता फिर्ता ल्याएकोमा हर्षविभोर नेपाली कांग्रेसका सभापति देउवाका यी राजनीतिक सल्लाहकारले अबका दिनमा के कस्तो भूमिका निर्वाह गरेर आफ्नो पार्टीका पोल्टामा जनताको स्यावासी बटुल्लान् त्यो त आगामी दिनहरुमा देखिँदैजाला। 

 
 

प्रतिक्रिया