नयाँ समीकरणबाट राष्ट्रपतिको उम्मेदवार बने पौडेल

काठमाडौं। नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी , जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया