राष्ट्रपतिको उम्मेदवारः देउवाको रोजाईमा पौडेल कि सिटौला?

काठमाडौं। पुरानै गठबन्धनको सम्बन्धलाई आधार मानेर प्रधानमन्त्री पुष्पकमल दाहालले  राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने वचन दिएपछि नेपाली कांग्रेसले पार्टीभित्र उम्मेदवार छान्न छलफल थालेको छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गरेर उम्मेदवार टुंगो लाउने गृहकार्य सुरु गरेका छन्। 

नेताहरु रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले राष्ट्रपति हुन रहर गरेका छन्। यसका लागि उनीहरुले पार्टीभित्र र बाहिरका सहयोगी केन्द्रहरुलाई आफ्नो पक्षमा निर्णय गराउन सक्रिय गराएको बुझिएको छ। नेता पौडेल सभापति देउवाको दोस्रो प्राथमिकतामा रहेको बताईन्छ। महाधिवेशनमा पौडेलले भन्दा ज्यादा सहयोग गरेकाले सिटौलालाई मौका दिनुपर्छ भन्ने देउवाको मूल्यांकन रहेको सूत्रहरुले बताएका छन्। 

नेपाली कांग्रेसलाई सहयोग गर्न तत्पर ठानिएका प्रधानमन्त्री दाहालले पनि सिटौला नै रोजेको बताईन्छ। शान्ति प्रक्रियामा आएदेखिका राजनीतिक उतारचढावमा सिटौलाले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रधानमन्त्री दाहालले उनैलाई अगाडि सार्न सभापति देउवालाई सुझाएको थाहा भएको छ।

यता, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेसलाई हिस्स पार्ने दाउपेच रचेको हुनसक्ने भनेर आशंका पनि गरिएको छ। प्रतिनिधिसभा निर्वाचन पछि नेपाली कांग्रेसलाई रित्तोहात हुनेगरी हिस्स पारेका दाहाल र ओलीले यसपटक पनि उस्तै चाल चलेको हुनसक्ने कांग्रेसका एक नेताले आशंका गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चर्चामा ल्याएर यही काम गर्न खोजिएको हुनसक्ने ती नेताको भनाई छ। नेपाली कांग्रेसले गर्ने सम्भावित निर्णयलाई प्रभावित पार्नेगरी सभापतिलाई सुझाव दिएर प्रधानमन्त्री दाहालले एमालेसँगको रणनीतिक साझेदारीलाई नै बल पुर्याएको हुनसक्ने आशंका गरिएको छ।

सभापति देउवा निवास धुम्बाराहीमा यतिबेला उम्मेदवार बारे परामर्श गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

पैडेल र सिटौलामध्ये कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्नेबारे सुझाव लिन सभापति देउवाले बैठक राखेका हुन्। सहमति जुटेमा यही बैठकले उम्मेदवारको टुंगो लगाउने आशा गरिएको छ।

फागुन १३ गते शनिबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

 

प्रतिक्रिया