यमदूतको पञ्जाबाट फुत्किँदा

सत्य हो, तुजुकले मान्छे बिगार्छ। आफू पनि तुजुकवाला नै परियो। बर्षदिन अघि ज्यानले सहनै नसक्ने पीडा उत्पन्न हुँदा दर्द निवारक टीका लाउनुपर्दा नै बासु भाईले स्टोनको शंका गर्दा तुजुकले जितेको थिएँ। केही दिन अघि सोही समस्या दोहोरिँदा फेरि बासु भाईको शरण परियो।

‘भाइ, सुई लाउनु पयो।’ निचोरेको कागती जस्तो मेरो अनुहार हेर्दै बासु भाइ बोले–‘सुई त लाईदिउँला दाइ तर तपाईंको ज्यानमा ढुङ्गाखानी छ! पहिले पनि भनेकै हो। युएसजी गर्नुस्!’

कुदियो ॐ साई पाथीभरा! प्रमुख प्रशासक भाइ दिप पौडेल र प्रशासक भाइ मनोज दाहालको विशेष पहलमा तुरुन्तै युएजी गरियो! डाक्टर सागर अधिकारीले बताए– ‘अंकल, स्टोन छ तर प्रष्ट भएन! भोलि खाली पेटमा रिपिट गरौं है!’

नाइँ भन्ने कुरै थिएन! भोलिपल्ट डाक्टर सुमन रौनियारबाट कन्फर्म प्रमाणपत्र प्राप्त गरियो! आठ आठ इञ्चका दुई थान रत्नको साहु भईएछ!

भाइ दिपले चिमोट्यो– ‘लौ बधाई छ दाई, भोलि आउनुस काटिहालौं!’

GM Bhurtel

डाक्टर शशीको राय पनि काट्नै पर्ने रह्यो! डाक्टर मुस्कान पनि समय मिलाउन तुरुन्तै तयार! बगरेले बोको देख्दा काटौंकाटौं लाग्नु र सर्जनले बिरामी भेट्दा चिरौंचिरौं लाग्नु स्वभाविकै होला! भरसक काट्नु नपरोस् भन्ने कामना गर्दै मेरो स्वास्थ सल्लाहकार वीर अस्पतालको डाक्टर भाइ पाण्डव बराललाई रिपोर्ट पठाएँ! भाईले मेरो योजना दरपीठ गर्दै जवाफ दियो– ‘पित्तमा भएकोले फाल्दै बेस हुन्छ दाई! किड्नी सिड्निमा भएको भए जाँड तन्काउँदा हुन्थ्यो। फाल्दिनुस अब। डाक्टर शशी राम्रो डाक्टर हुन्!’

ठिकै हो, रोग पालेर के गर्नु? खसी भए पो अलि ठूलो पारेर बेच्दा धेर पैसा आउला! रोग पाल्दा त झन् धेरै पैसा जान्छ! डाक्टर मुस्कानले १५ गतेको समय दिएपछि १४ गते बेलुकी अस्पताल पुगेर विधिवत बिरामी भईयो! एउटी सिस्टरले मेरो थर भूर्तेल लेख्नुपर्नेमा भूजेल लेखिछन् ‘ज्ञानमणि भूजेल’ भनेर चिच्याउँदा हाँसो चल्यो! पछि लजाउँदै सच्याईन्! सुरु भो– यो टेष्ट त्यो टेष्ट! यता घोच उता पेच! जीवनमा पहिलोपटक स्लाईनको अनुभव लिईयो! १५ गते १ बजे तिर बोईलर भुत्ल्याएझैं नाङ्गे भुतुङ्गे पारेर पोष्टअप वार्ड छिराए! भित्र पनि घोचपेचको सिलसिला चल्यो ४.३० सम्म!

अपरेशसन थिएटरभित्र छिराएपछि आफू चैं बोईलर अनि दायाँबायाँ उभिएका डाक्टर चंै कसाई झैं देखें जो मलाई चिर्न तयार छन्! ज्ञान एकातिर मणि अर्कोतिर पार्न तम्तयार! मनमा अनेक कुतर्क जाग्यो! गयो केटो अब। यत्तिनै रैछ यस लोकको भोग। पिलो निचोर्दा सिलटिम्बुर प्राप्त हुने मुलुकमा पित्त नै निचोर्दा के ठेगान्?  जन्मेको भोजपुर देखि हुर्केको भद्रपुर सबै स्मरण भो! ईष्ट सम्झेँ  दुष्ट सम्झें ! मित्र सम्झेँ शत्रु सम्झेँ! घर परिवार नातागोता छरछिमेक सबैसँग मनमनै बिदा मागियो!

सबैभन्दा विवेकि श्रेष्ठ प्राणी मनुष्यलाई मानेपनी खोपडी उल्टो कुदेपछि कस्को के लाग्छ? जीवन बचाउन दायाँबायाँ उभिएका डाक्टरलाई साक्षत यमदुत देख्न पुगें! मानौँ उनीहरु भन्दैछन्– चल लिखुरे तेरो मिति पुग्यो! हस्याङ्ग फस्याङ्ग गर्दै डाक्टरलाई सघाउने नर्स आफ्नै बुहारी लोचन समेत उनीहरुकै मतियार जस्तो लाग्यो! दाई, हल्का पोलेजस्तो हुन्छ है! नआत्तिनु भन्दै डाक्टर मुस्कान  कुनै टोकरी जस्तो भाँडोले नाकमुख थुन्दैथिए! क्षणभरमै कता पुगियो पत्तै भएन!

देख्छु– केही बेर अघि डाक्टर उभिएको ठाउँमा दुईवटा भैंसी उभिएका छन्! भैंसीका छतमा टाउकोमा मुकुट लाएका काँधमा मुसल बोकेका भैंसी सँगै मिल्दोजुल्दो हुलियाका एकहुल काले बिराजमान! म तिर हेर्दै हल्का मुस्कान छोडे! नचिनेका मानिस मुस्कुराएपछि जिल्ल पर्दै यताउता हेर्दा एउटा बोर्डमा नजर अडिायो! लेखिएको थियो– यमलोक बसपार्क! छेउछाउमा विभिन्न बोर्डहरु टिकट काउन्टर। यमलोक यातायात सेवा! यमलोक एसि कोच! यमलोक लग्जरी कोच! दलालको कोलाहल– ‘आउनुस् चाँडो जाने यता छ! बाजे कता? सिट खाली छ आउनुस् यता! त्यो गाडी त खत्तम छ खाल्डोमा हाल्छ! व्यापक अन्योल! ठ्याक्कै रत्नपार्क! दुईटा दले आएर दुईतिर तान्न थाले! एउटाले ब्याग तानेर कता मुन्टियो पत्तै भएन! अर्को पाखुरामा झुण्डिदैथियो!

बल्लतल्ल फुत्किएर एउटा मुडा तानेर बसेर बिरक्तिदै भक्का खादै थिएँ। उहिलेका माईतिघर चोकमा परिचित ट्राफिक भेटिए! ‘दाई नमस्कार, कताबाट हो? धेरै दिनमा पो भेट भो त! माईतिघरको पसल छोडेको हो?’

‘खै ! कताबाट भन्नू र भाई? पित्तको स्टोन निकाल्न ओटिमा सुतेको थिएँ! कताबाट यता आईपुगियो? अन्योल भो भाई!’

‘लौ बितेछ, तपाईं त मर्नु भएछ दाई! यहाँ त मरेपछि मात्रै आउने हो! अब यो चोकबाट स्वर्ग र नर्क छुट्टिन्छ!’

ट्राफिक भाईले दुईतिरको संकेत देखाउँदै बोल्यो ‘आउनुस् दाई, चिया पिउँ! धेरै दिन भो दाईसँग बसेर चिया नपिएको!’

चिया पिउँदै गर्दा एउटा काले आएर पाखुरा समाउँदै बोल्यो– भूजेलजी, हिँड्नुस् जाउँ अब। म त भूजेल हैन! कसलाई जाउँ भनेको सर?

तपाईंलाई नै भनेको नि! मिति पुग्यो तपाईंको! ज्ञानमणि भूजेल तपाईंनै हैन र? लिन आएको हामी! यमलोकको प्लेट लागेको थोत्रो मारुती भ्यानतिर ईसारा गर्यो! सातो उड्यो! सुस्तरी बोलें– हैन सर, म त ज्ञानमणि भूर्तेल पो हो त!

ट्राफिक भाईले समेत प्रष्ट्यायो– उहाँ त भूर्तेल दाई हो नि, ज्ञानमणि भूर्तेल!

ट्राफिकलाई समेत शंकालु नजरले हेर्दै एक अर्कामा मुखामुख गर्दै एउटा बोल्यो– तपाईं ज्ञानमणि भूर्तेल भन्नुहुन्छ उता सिष्टरले भूजेल लेखेकी छन्! यो त  लामिछानेको नागरिकता जस्तै कन्फ्युज पो भो त! कुरो के हो? खै, आईडी देखाउनुस्! आईडी देखाएपछि पढ्दै हल्का बर्बरायो–]– 'Drishyatv.Com, Gyanmani bhurtel, columnist, Writer' ओहो! तपाईं त्यै दृश्य टिभिमा व्यंग्य लेख्ने पत्रकार पो हो?

‘हो त’ गमक्क फुलें म! तुजुक देखाउँदै थपेँ– बित्थामा भूजेल भन्देर कत्रो टेन्सन्! तुरुन्तै मस्तिष्क झसङ्ग भो– हैट, यमदूतसँग त मुख लाग्नु हुन्न! यमदूत र हाम्रो सरकार उस्तै हो! बोल्यो कि पोल्यो! हत्तपत्त बिनम्रता पोखेँ– म भूर्तेल नै हो सर भूजेल हैन! पत्रकार चैं हो कि हैन, थाहा भएन! यसो हल्काफुल्का व्यंग्य चैं लेखिटोपल्छु! लेख्न सिक्दैछु सर!

तपाईं भूर्तेल भन्नुहुन्छ उता हस्पिटलको कागजमा भूजेल लेखेको छ! ट्राफिक पनि भूर्तेल नै भन्छ! मोराले घुस हसुरेर भनेको हो कि? आईडीमा भूर्तेल छ! अस्पतालको पेपरमा भूजेल! टेन्सन भो यार! टाउको समातेर छेउको मुडामा बसे काले यमदूत!

टेन्सन नलिउँ प्रभु पत्रकार हो रैछ! व्यंग्य लेख्दो रैछ! यसैलाई लैजाउँ! भूजेल हो कि भूर्तेल होस् के मतलब? थान गन्ती पुगे भैगो नि! एक भोट भएपनि माथि सरकार बनाउन ठूलो योगदान पुग्छ! क्वान्टिटी पुगिहाल्छ! क्वालिटीसँग के मतलब?

चुप! पत्रकार भन्दैमा हुन्छ? चिनेको छस् को हो यो? छोटे यमदूतको ‘छैन’ टाउको हल्लाई हेर्दै हाकिम यमदूतले थपे– पञ्चायतकालको आलोक साप्ताहिकको पत्रकार हो! उहिले पञ्च थर्काउने! काठमाडौं माईतिघर चोकमा बसेर वकिलको संगत गर्ने  छुचुन्द्रे हो यो! पानीमा डुबेर मरेकोलाई पनि आगोले पोलेर मरेको भनेर सावित गर्दिन्छ! माथि लग्यो भने हाम्रै चाक प्वाल पार्छ! धमला भन्दा खत्तम छ! कताबाट पसेर कता निस्किन्छ? पत्तै हुन्न! यसको लेख पढ त! कसैलाई बाँकी राख्दैन!

पढेको छु प्रभु! मलाई त स्वाद लाग्छ!

‘लाग्यो स्वाद’ छोटे यमदूतको नाकै पिल्सिने गरि लोपारे हाकिम यमदूतले! ‘उखान अंकलको छिमेकी हो! नम्वरी गफाडी! अर्को लामिछाने हो यो। उ चिच्याउँछ, यो लेख्छ! फरक यत्ति हो! यस्तो काउछो माथि लगेर काम छैन!

लाने नलाने गलबद्दी चल्दैगर्दा एकहुल भेडाको बथान ‘ज्ञानमणि भूर्तेल जिन्दावाद! तानाशाह यमदूत मुर्दावाद’ को नारा चिच्याउँदै हामी छेउ आएर रोकियो! भेडो मध्ये जेष्ठ भेडो चिच्यायो– हाम्रो मान्छे लान खोज्ने को हो? कम्मरबाट खुकुरी झिकेर नचाउँदै घोक्रो फुलायो– यहाँ खुनको खोलो बग्छ! गणतन्त्र जोगाउन हामी जस्तोसुकै बलिदान गर्न पनि तयार छौं! बाँकी भेडाले हो मा हो मिलाए! आफ्नो समर्थनमा भेडाको हुल देखेपछि मेरो फुर्तिले आकाश छोयो! यमदूतलाई बिहारी गाली बक्दै भेडातिर आँखा सन्काएँ! भेडा झन् उग्र भएर नारा लाउन थाले– ‘हाम्रो मान्छे लान पाउँदैनौ! यो हाम्रो नेता हो! हाम्रो आशा र भरोसाको केन्द्र हो! हाम्रो भविष्य हो! यसकै नेतृत्वमा पार्टी गठन गरेर नेता बनाउँछौं! चुनाव लडाएर सांसद मन्त्री बनाएर मुलुक चलाउँछौँ! लाने भए हाम्रो लाश माथि टेकेर लानु!’

सबै भेडा सडकमा पसारिए! नेपाली भेडा सामु यमदूतको समेत दाल गलेन! निरीह यमदूत कुलेलम ठोके!

‘दाजु कस्तो छ?’ बहिनी लक्ष्मीको मधुरो आवाजले ध्यान तान्यो! ‘म बिहानै धरान जानुपर्ने छ। परिवार छिमेकी सबै बाहिर हुनुहुन्छ। अरुलाई पस्न दिएको छैन। म भोलि जाने भनेर मात्र भेट्न पाएँ। अहिले जान्छु ल। ‘आफ्नो हालत फुल बोतल तन्काको जड्याहा जस्तो थियो। के के बर्बराउँदै बहिनी बिदा गरियो, याद भएन! बिस्तारै आँखा खुल्यो! घडीमा नजर पुग्यो ७.३० भएछ!  पोष्टअप वार्डमै रैछु! ढुक्क भो जिम्दै रैछु। यमदूतको पञ्जाबाट फुत्केकोमा राहत महसुश गरियो!

यो फुत्क्याईमा एउटा भूमिका आफ्नै छुचुन्द्रेपनको रह्यो, जसलाई मूल यमदूतले रुचाएनन् र तलै छोड्ने निर्णयमा पुगे! दोस्रो भूमिका ती सिष्टरको देखियो जसले भूर्तेल लेख्नुपर्नेमा भूजेल लेखेर यमदूतको दिमागमा मदानी चलाईदिईन्! ट्राफिक भाईले भूर्तेलनै हो भनेर सनाखत गर्नु पनि त्यसबेला कोरामिन सावित भो! सबैभन्दा ठूलो भूमिका ती भेडाको रह्यो जसले मेरो गफाडी चरित्रमा भुलिएर यसै मुलुकमा राख्दै आफ्नो नेता बनाउनका लागि यमदूत सामु चट्टानी अडान लिए! हार्दिक आभार ती भेडा प्रति!

यहि पुनर्जन्मको शुभ मुहुर्तमा एउटा पार्टी खोलेर नेता बन्ने बिचार आयो। भेडाको कमि छैन। भोट हालिहाल्छन्। जीत सोलिड! उप पर्धान आफ्नै भागमा! मज्जाले कलब्रेक खेलिन्छ!

समग्रमा तीन दिनको अस्पताल बसाई रमाईलै भयो! तर आधा आधा घन्टामा खैनी च्याप्नुपर्ने ‘च्यापिष्ट’ का लागि अघिल्लो दिन एक बजे ओटि छिराएर भोलिपल्ट एक बजे वार्ड फिर्तीसम्मको चौबीस घन्टा खैनी बिना बिताउनु पर्दाको पीडा भुँडी चिरेको भन्दा दर्दनाक थियो जुन च्यापिष्टले मात्र महसुश गर्न सक्छ! विवरण पढ्ने त हाँस्ने रमिते मात्रै त हुन् नि!

यो पीडाबाट मुक्ति पाउन जनहितका लागि पोष्टअप वार्डमा पनि खैनि च्याप्ने ब्यवस्था मिलाउन मिल्दैन? सुतेका निर्दोष जनता काटेर जनयुद्ध भन्दै बिदा दिन मिल्ने मुलुकमा यति गर्न किन कन्जुस्याइँ सरकार?

हेल्लो सरकार, मेरो पीडा सुन्दैहोईसिन्छ?
 

प्रतिक्रिया