समाजमा प्रेमको व्यापार

 माया शब्द प्यारो मात्र हैन निकै शक्तिशाली पनि छ । यो शब्दको दायरा पनि निकै फराकिलो छ । हामी सजिलै म तिमीलाई माया गर्छु भन्छौं । तर माया सजिलै गर्न सकिने विषय हैन । यसमा त असीम समर्पण चाहिन्छ । कष्ट सहन सक्ने अपरिमित साधना चाहिन्छ । आफूलाई अर्थात आफ्नो इच्छा, आकांक्षा, सपना तथा मर्महरु सबैलाई पूर्णतः शहादत गर्नुपर्छ । अरुको खुशीमा आफ्नो दिल हसाउन सक्नुपर्छ । संकीर्ण स्वार्थले भरिएको समाज भित्र ‘माया’ को विरुवालाई हुर्काउन लगभग असाध्य नै बनिसकेको छ । अरुलाई कष्ट दिएर आफू आनन्दित हुने अभ्यासलाई हामी सभ्यताको नाम दिइरहेका छौँ ।

अरुको कष्ट दूर गर्नको लागि आफू कष्ट सहन तयार हुने व्यक्तिले मात्र मायाको विरुवा हुर्काउन सक्छ । बुद्धि, मन तथा शरीरको मात्र प्रयासले कष्ट सहन सक्ने सामथ्र्य पैदा गर्दैन । यो भन्दा पनि माथि अर्थात गहिराईमा अर्को कुनै वस्तु या तत्व छ । त्यो हो आत्मा । आत्मा साँघुरो दायरा भित्र रहेर खण्डिकृत इच्छा, आकांक्षाको तृष्णामा रमाउँदैन । किनभने आत्मासँग स्वार्थान्ध अनुभूति नै हुँदैन । ऊ त निर्विकार छ, निरपेक्ष छ । कुनै प्रकारको उत्तारचढावले आत्मालाई प्रभावित बनाउँदैन । आत्मामा केवल दिव्यता हुन्छ । 

विशुद्ध प्रेम (माया) निरपेक्षतामा हुन्छ । प्रेम पाउन हैन दिनका लागि अभ्यास गरिने भावना हो । तर समाजमा प्रेमको व्यापार हुन्छ । प्रेमको विषयलाई लिएर झगडा हुन्छ । प्रेमको पनि हिसाब–किताब हुन्छ । तिमीले मैले जति प्रेम गर्दैनौ, मेरो प्रेम तिम्रो भन्दा बढी छ, यस्तै मापकीय परिभाषामा प्रेमलाई सीमाबद्ध बनाइएको छ । यस्तो सीमाबद्ध प्रेम त स्वार्थको लेनदेन मात्र हो । प्रेम दिनको लागि जस्तोसुकै कष्टलाई पनि सहन सजिलै तयार हुने वासना रहित मन नै प्रेमको उर्वर भूमी हो । त्यस्तो मन साधनाका माध्यमबाट मात्रै तयार हुन्छ । यस्तो मन भनेको त्यही वास्तविक आत्मा हो जो ‘सत्यम् शिवम् सुन्दरम्’ का साथ एकाकार भएको हुन्छ । बन्धुत्व एवं सेवाको भावना आध्यात्मिक श्रोतहरुबाट उत्पन्न हुन्छन् । सबै चराचर जगत् प्रति प्रेमपूर्ण दृष्टि आनन्दको सर्वोच्चता हो । त्यसैले प्रेम अखण्ड विषय हो । हामी प्रेमलाई टुक्राटुक्रा पारेर भोग्न चाहन्छौँ, तर यो भ्रमले हामीलाई प्रेम हैन, निष्फल यात्रा तर्फ कुदाइरहेको हुन्छ । 

सौन्दर्यको स्रोत नै प्रेम हो । चेतनाको सर्वोच्चतामा मात्रै सौन्दर्य आलोकित हुन्छ । कुनै पनि विषय वा व्यक्तिलाई प्रेमपूर्ण हिसाबले आत्मसात् गरियोभने मात्र चेतनाको प्रकाश बल्छ र सौन्दर्यबोध हुन्छ । विविधतामा ऐक्यता नै प्रेमको मूलबाटो हो । सबैको भावनालाई एकीभूत गर्दै सुरुचिपूर्ण आत्मीकरण नै प्रेमको विराटता हो । हास्य, दया, करुणा, प्रेम, वीरता, श्रङ्गारता, वीभत्सता जस्ता अनेकौ रसानुभूतिको अन्तिम रुप प्रेम नै हो । संस्कृतका महान कवि भवभूतिको कथनले पनि यो कुरालाई पुष्टि गर्दछ । 

“एको रसः करुण एव निमित्तभेदात् भिन्नः पृथक पृथगिवा यते विवर्तान् ।”

अर्थात विभिन्न रसभावहरुको वर्णन गरिए पनि वस्तुत सबै करुणाकै विविध रुप हुन् । अर्थात सम्पूर्ण सकारात्मकता नै प्रेमलाई हुर्काउने, बढाउने, मलजल गर्ने साधन हो । त्यस्तो सकारात्मक  बन्न सक्ने सामाथ्र्य केवल परिशुद्ध मनमा मात्रै हुन्छ ।  काम, क्रोेध,लोभ,मोह,मद–विषयहरु नै पे्रमको सबैैभन्दा ठूलो शत्रु हो । तर हामी यस्तै विषयहरुमा प्रेम खोजीरहेका हुन्छौँ । आजको समाज द्धेष एवं सन्देहको खाडलमा पुरिँदै गएको   छ । जुन अनुपातमा मनुष्य आत्मनिर्भर तथा आत्माभिमानी बन्न प्रयास गरीरहेको छन् त्यही अनुपातमा उनीहरु अझ कमजोर, संवेदनाहीन, नकारात्मक एवं निरीह बन्दै गएका छन् । आस्थामाथि भरोसा टुट्दै गएको छ । अहंता एवं पाखण्डले आफ्ना सभ्यता एवं ज्ञानका प्राचीन धरोहरलाई असान्दर्भिक भनेर त्यसबाट विमुख हुने प्रचलन बढ्दो छ । जब आस्था टुट्छ त्यहाँ प्रेम हैन पाखण्ड, घृणा, प्रतिशोध एवं अधिक प्रज्वलनशील तृष्णा मात्र बाँकी रहन्छ । 

प्रेम कष्ट साधनाको अभ्यास हो । वस्तुतः जसले प्रेम गर्छ ऊ कष्टबाट बाँच्न सक्दैन । अनेकौं दुःख कष्ट नसहेसम्म प्रेमको मौलिक आनन्द भोग्न सकिँदैन । आफूले प्रेम गरेको व्यक्ति या विषयप्रति पूर्णतः समर्पित हुँदा प्राप्त हुने सुखानुभूतिको अगाडि आफूले पाएको समर्पणजन्य दुःख सामान्य लाग्छ । जब मानिस बौद्धिक, शंकाशील एवं तर्कप्रवीण बन्दै जान्छ तब ऊ व्यक्तिप्रधान समाजको स्थापना तर्फ अग्रसर हँुदै जान्छ । जब आस्था एवं विश्वासको ठाँउमा तर्क एवं बुद्धि स्थापित हुन्छ तब परम्परादेखि चल्दै आएका मान्यताहरु, सामाजिक सद्भाव एवं बन्धुत्वका मुल्यहरु व्रmमशः धराशायी हुँदै जान्छन् ।

मानिस अदृष्ट सत्ता एवं अभौतिक सत्यबाट टाढिँदै सीमित भौतिक विलास एवं पर–पीडाको आगो तापेर न्यानो महसुस गर्न थाल्छ । ईश्वर, आत्मा, परमात्मा, पितृ, दया, माया, परोपकार एवं करुणाको विषय उपहास बन्दै जान्छ । अनि यस्ता विषयहरु शब्दमा सीमित रहन्छन् । त्यसैले आजभोलि प्रेमको परिभाषा हावा भरेको बेलुन जस्तै हलुका बन्दै गएको छ । काम वासनाको बल्दो आगोमा चन्द्रमा जस्तो शीतल प्रेम जस्तो गहन विषय, विना प्रयत्न, विना समर्पण प्राप्त गर्ने र त्यसैलाई प्रेमको जामा पहिरिने अभ्यास भइरहेको छ । 

जीवन परस्पर विरोधको एक श्रृंखला हो । सबै प्रकारका विरोधाभासहरुलाई स्वीकार गर्दै अघि बढ्न नसक्ने हो भने प्रेमको वाटिका तयार गर्न सकिदैन । जबसम्म अपेक्षा हुन्छ त्यो प्रेम बन्नै सक्दैन । पति–पत्नीको प्रेम त झन् प्रेमको आँगनसम्म पनि पुग्न सकेको छैन । दाजुभाइ, दिदीबहिनी तथा नाता कुटुम्बको प्रेम केवल प्राविधिक मात्रै देखिन्छ । यो भन्दा बाहिरको त कुरै छोडौँ । 

वास्तविक प्रेम पाउन या दिनको लागि आध्यात्मिक चेतनालाई जागृत गर्नैपर्छ । आध्यात्मिक मन मात्रै प्रेमको निवास स्थल हो । हामी यो संसार सञ्चालन गर्ने कुनै आध्यात्मिक शक्तिलाई जब मान्न छोड्छौं तब प्रेममय मानव सभ्यता भत्किन थाल्छ । भगवान कृष्णलाई हामी प्रेमको प्रतीक मान्छौं । उनले प्रेमका लागि कुनै अपेक्षा गरेनन् कुनै तृष्णा राखेनन् । केवल प्रेमका लागि प्रेम गरे । उनीसँग न त  थियो न त तृष्णा थियो । उनीसँग त यो संसारका प्रति प्रेम थियो, मानव सभ्यता प्रति गौरव थियो । सम्पूर्ण चराचर जगत् प्रति प्रेम थियो, त्यही प्रेम तत्व नै ईश्वरको प्रसाद थियो, शक्ति थियो । त्यसैले त “कृष्णात् परं किमपि तत्वमहं नजाने” अर्थात कृष्ण भन्दा बाहेक अर्को कुनै तत्व जान्दिन ।  

प्रतिक्रिया