खराब प्रदर्शनपछि क्रिकेट मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजिनामा दिएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएको जनाएको छ।  टिमको निराशजनक प्रदर्शनपछि उनले राजीनामा दिएको बुझिएको छ। नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजिनामा स्वीकृत भएको जनाएको छ। 

तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले राजिनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो। 

यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन–२ को शीर्ष तालिकाको तीन भित्र रहन कठिन भएको छ । नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो । हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । 

सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ ।

त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ । प्रभावकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्या बिरुद्धको ट्वान्टी–२० र एक दिवसीय श्रृंखला जितेको थियो ।

त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजिनामा आएको बताईएको छ।

प्रतिक्रिया