हेल्लो हल्दार कांग्रेस, जय नेपाल !

gyan maniकाठमाडौ छोडेको हो तिमीले?

समातेको भए पो छोड्नु। समात्नै सकिएन दाजु! गाउँफर्क अभियान पो चलाईयो! झापा फर्केपछि हरेकले सोध्ने प्रश्नको जवाफ दिएझैं बीरमणी दाईसँग पनि त्यसैगरी बोलियो!

म त काठमाडौं आईपुगेको छु! भद्रपुर काङ्ग्रेसको के छ हालचाल? कृष्णजी कता छन्? हारी हाले, हैन त?

खै, थाहा छैन दाजु! लिङ्देनलाई ख्वाउनुपर्ने खैनी आफैं खाएर उत्तानो टाङ्ग लाएर पल्टेको छ भद्रपुर काङ्ग्रेस! हामी त शोकमा छौं! जुठो पो परेको छ है दाजु!
काठमाडौबाट बीरमणी दाईको फोन पछिको सम्वाद!

–तिमी त क्रियाशील अनि क्षेत्रीय प्रतिनिधि पनि! थाहा छैन भनेर धर पाउँछौ? डिटेलमा सुनाउ न यार! बीरमणिलाई ज्ञानमणिले सुनाएको अर्कै मज्जा नि!

बीरमणि दाईको मजाकिया स्वभाव अझै कायम छ! सदाबहार रङ्गिन!

बीरमणि दाईको “क्रियाशील र क्षेत्रीय प्रतिनिधि” शब्दले आफैंमाथि व्यंग्यको बोराले थिचेको अनुभव भो! जबकी उहाँको भाव व्यंग्यको थिएन! उहाँको वाक्यले क्रियाशील देखि प्रतिनिधि चयनसम्मको तीतो यात्रा पूर्वदीप्ति भो।

– घर फर्केर ठीक गर्नुभो दाई! फटाहाको हातमा गैसक्यो काङ्ग्रेस! अब वार्ड सम्हाल्नुपर्छ दाई!

झोला समेत बिसाउन नपाई एउटा भाईले वडा जिम्मा लाईदियो! अर्को मेयर बनाउने निस्कियो! सँगै समानुपातिकबाट सांसद बनाउदै अन्तरीक्ष यात्रा गराउने समेत भेटिए! जो मेरो सरोकार भित्र थिएन अनि पार लाग्ने बिषय पनि थिएन! ५२ सालमा झापा छोड्दाको काङ्ग्रेस भित्रका काङ्ग्रेस सबै बारीको डिलमा थिए! काङ्ग्रेसका नाममा दाउनी गर्नेमा पुलिसमा जागीर खाएर हामीलाई नै कुट्ने हल्दार! मालपोतमा बसेर हामीसँगै २०/५० घुस माग्ने खरदार अनि हामी गाउँ पस्दा हामी उपर ढुङ्गा बर्साउने पूर्व वामपंथी अग्रपंक्तिमा! वरिष्ठ काङ्ग्रेस ! काङ्ग्रेसका ठेकेदार भैसकेका थिए!

जन्मजात लुतो लिएर जन्मेको! कन्याउने रहर जाग्नु स्वाभाविकै थियो! नवीकरणका लागि निवेदन पेस गरियो! वार्ड टिकट  देखि समानुपातिक कोटासम्म बेच्न पल्केका दासलाई म जस्ताको उपस्थिति पच्ने कुरै थिएन! निवेदन दरपीठ भो! कारण थाहा छैन! हल्दारलाई सोध्दा खरदार देखाउने! खरदारलाई सोध्दा बैदार देखाउने! नयाँ फर्म भरेपछि खरदार काङ्ग्रेसको निगाहमा ५१ सालमा किशुनजीले दिएको क्रियाशील चिर्कटो हाईड्रोसिल साबित हुँदै ७८ मा “म्यादी काङ्ग्रेस” को नियुक्ति पाईयो!

हलि काङ्ग्रेसको पहिलो तगारो नाघियो!

पार्टीको चुनाव लाग्यो! सजिलोसँग दिन्छन् भन्ने त पट्क्कै थिएन! तर पनि क्षेत्रीय प्रतिनिधिका लागि दाउ लाईयो! दास काङ्ग्रेसको पकड यस्तो थियोे कि कलब्रेकमा मन परेकोलाई हात पुर्याईदिने र मन नपरेकालाई गोलखाडी लानेझैं! चुनाव हुँदा मेरो एक भोट पक्का! अरु दास भरोसे! १० जनाको कुर्सीमा २२ पुगियो! लगभग सबै कुर्सी  प्याक! भद्रपुरमा काङ्ग्रेस हुन नेताको हलि हुनुपर्ने अनिवार्य सर्त! कि नातेदार पर्नुपर्यो! चोर होस्! तस्कर होस! बामपंथी होस्! माओवादी होस् या सत्र पार्टी चाहार्दै नेताको गोठ सोहोर्ने दास होस्! पक्का काङ्ग्रेस त्यही! सेल्फी लिन बिहानै नेता  निवास पुगेको होस्!

२२ बाट ११ पुगेपछि भोलिपल्ट एउटा को फालिने? भन्ने चिन्ताले रात छट्पटिमा बिताईयो! वार्ड्कै भए नि सत्ता नशाको महत्वको ब्रम्हज्ञान प्राप्त भो! “देउवाले छोडिदिए हुने! पौडेलले किन लोभ गरेका होलान्?” भन्दै गनगन लेख्ने म एउटा क्षेत्रीय प्रतिनिधिका लागि गलबद्धी गर्ने अनि देउवा, पौडेलले कुर्सिमोह त्याग्नुपर्ने अर्ति फलाक्नेका लागि आफैं उपर ठूलो व्यंग्य  थियो! “तपाईं जस्तो बौद्धिकले हामीलाई निर्देशित गर्नुपर्छ!”

जस्ता चिप्ले शब्दबाट सुरु भएर “पद खोज्नु हुन्न” को पूर्णबिराममा टुङ्गिदा भजनमण्डलिलाई मेरो उपस्थिति अपच प्रष्टै थियो! टुरिष्ट काङ्ग्रेसको बिल्ला भिराउने देखि काङ्ग्रेस भएर काङ्ग्रेसकै खेदो खन्ने आरोप लाउँदै ज्ञानमणिको कहिल्यै सोझो नहुने पुच्छर कता छ बिष्णुजी? “खोजिगर्दै परालको मुठो बोकेर नेताको चाक पुछ्न तम्सिने हल्दार काङ्ग्रेसले आलोचनाको बाल्टिमा शुद्धताको पानी बोकेर चाक पखाल्न सिकाउने ज्ञानमणि के बुझोस्? कसरी बुझोस्?

हलि काङ्ग्रेसको ईजलासको छलफलमा एलएलएम गरेको न्यायाधीशले आठ कक्षा पास सांसदका अघि उभिएर सुनवाइ समितिको कर्मकाण्ड पूरा गर्नु र मैले हल्दार काङ्ग्रेसका अघि उभिएर स्पष्टीकरण दिनु उस्तै थियोे! आफ्नो भजन गाउन अटेर गर्नेलाई काङ्ग्रेस निकाला गर्ने दास नीति अनुसार बालध्वज कार्की डायलमा परेकाले उहाँको अपुताली मेरो भागमा पर्दा निर्विरोध क्षेत्रीय प्रतिनिधिको बिल्ला भिरियो! बिल्ला के भन्नू र? हँसिया निले सरह भो!

हलि काङ्ग्रेसको गलत क्रियाकलाप (आलाप) को बिरोध बोलिलाई अनि काङ्ग्रेस सुधारको आलोचनात्मक लेखाइ काङ्ग्रेस बिरोधी देख्ने हल्दार काङ्ग्रेसले “हामीले क्षेत्रीय प्रतिनिधि बनाएको” दम्भ छाँट्दै  “एमालेमा जाने” फेसबुके उर्दि जारी समेत नगरेको हैन! गलत आलापको (क्रियाकलाप हैन है) बिरोध गर्दा  प्+ र सहि कामको समर्थन गर्दा द्य+ को आरोप लाग्यो! प्+ कृष्ण सिटौला र द्य+ बिश्वप्रकाश समूह रे! काङ्ग्रेस कतै छैन! बिश्वप्रकाशसँग बोल्न भेट्न समेत खतरा! दशैंको चियापान र महामन्त्री भएपछिको स्वागत छेकवारको शकुनी कथा कुनैदिन लेखिने नै छ!

यस्तै छ समग्रमा भद्रपुर काङ्ग्रेस! काङ्ग्रेसको नाममा अस्थिपञ्जर मात्र बाँकी छ! काङ्ग्रेसका नाममा हल्दार बैदार खर्दारको हालिमुहाली छ! नेपाली  काङ्ग्रेस भित्तामा छ! सेल्फी काङ्ग्रेस कित्तामा छ! लिङ्देनलाई ख्वाउनुपर्ने खैनी दम्भका कारण आफैं सेवन गर्नाले ओभरडोजको असरले काङ्ग्रेस  अकाल मृत्यु वरण गर्न पुगेकोछ!

समग्रमा हामी काङ्ग्रेसको मृत्युका कारण शोकमा छौं! अहिले जुठोमा छौँ! पोष्ट्मार्टम रिपोर्ट पछि मृत्युबारे छलफल गर्दै गरौंला! अहिलेलाई एक डोज घडी छाप खैनी बाँकी छ! खाने भए पठाई दिन्छु! खाने हो दाजु? पठाईदिउँ? हेल्लो बीरमणि दाजु?
 

प्रतिक्रिया