एमाले महाधिवेशनः उम्मेदवारी दर्ताको काम राति, सोमबार मतदान

चितवन । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम मतदाताका रुपमा प्रकाशन गरेर बन्दसत्र भएको स्थलमा टाँस गर्न लागिएको एमालेको निर्वाचन आयोगले जनाएको छ । सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।

आइतबार राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले आइतवार राति ११ बजेदेखि दशौं महाधिवेशनको निर्वाचन कार्यक्रम प्रारम्भ भएको जानकारी दिए । सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया