सम्पादकीय

माननीय चन्द्रकान्त राउत

शंकाको पात्र थिए चन्द्रकान्त राउत अर्थात् सिके राउत। नेपालको भूअखण्डता र सार्वभौमसत्तामा खलल पुग्नेगरी विखण्डनको उदेश्य बोकेर सार्वजनिक जीवनमा उदाएका सिके राउत हरेक नेपालीका आँखामा बिझाउने ‘विखण्डनकारी’ तत्व थिए। राष्ट्र विखण्डनको रोमाञ्चकारी स्वप्न बोकेका क्रान्तिकारी कति चाँडै ओशो सन्याशी बन्न पुगे भन्ने कथाको भित्री पाटो भविष्यमा उनले आफैं खुलासा गर्दै जालान्। तर अहिलेलाई भने ती सिके राउत ‘माननीय यी सिके राउत’ भएका छन्।

विदेशमा उच्च शिक्षा पाएका सिके कसको एजेण्डा बोकेर नेपाल आमाको कोखमा दागा धर्न अघि सरेका हुन् भनेर आम नेपालीले उनलाई घृणाको दृष्टिले हेरेका मात्र थिएनन्। उनलाई ‘देशद्रोही’का रुपमा व्यवहार गरिनुपर्छ भन्ने माग पनि गरिएको थियो। 

अब परिस्थिति बदलिएको छ। सिके सार्वजनिक जीवनमा आएपछि नेपाल सरकारसँग शान्तिवार्ता गर्न सहमत भए। सम्झौता पनि गरे। उनले आफ्नो नेतृत्वमा जनमत पार्टी बनाए। त्यसको अध्यक्ष बनेर दुइ नम्बर प्रदेशमा राजनीतिलाई अघि बढाए। मधेशी जनताका नाममा राजनीति गर्दै आएका अरु दलहरुलाई चुनौति दिँदै उनले मधेशको दूरदराजसम्म आफ्नो सन्देश लिएर गए। मधेशवादी दलहरु उनको सक्रियताबाट तर्सिएका थिए भने कतिपयले सिके जनताले नरुचाईएका नेता भनेर प्रचारवाजी समेत गर्न बाँकी राखेनन्। 

शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि चर्को मानसिक तनावमा परेका सिके ओशो ध्यान केन्द्रसम्म पुगे। त्यहाँको सत्सँगले प्रभावित भएका उनी पूर्णरुपले आध्यात्मिक यात्रामा जाने सोचमा नपुगेका पनि होइनन्। तर मधेशका जनतासँग गरेका वाचा पूरा नगर्दा आफू इमान्दार नठहरिने महसुश गरेपछि उनी फेरि राजनीतिमा सक्रिय भए। 

यही सक्रियताको प्रतिफल स्वरुप भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनी सप्तरीको दुइ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यमा भारी मत पाएर बिजयी भएका छन्। सत्ता राजनीतिको दौडमा अग्रपंक्तिमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई निकै ठूलो मत अन्तरले पछि पारेर सिके बिजयी भएका हुन्। 

सिकेको जीतले उनको भावी यात्राको बाटो स्पष्ट भएको छ। ‘विखण्डनकारी’ बाटो त्यागेका कारण नै उनलाई यति ठूलो जनमत प्राप्त भएको हो भन्नेमा कुनै शंका रहेन। जनमतको दुरुपयोग गरेर भविष्यमा उनले कुनै अन्यथा बाटो समाउलान् भनेर उनका मतदाताले पक्कै पनि सोचेका छैनन्, ठूलो विश्वास उनलाई प्राप्त भएको छ। 

सधैं सत्ता राजनीतिका लागि मधेशका जनताको मतको उपयोग र दुरुपयोग गर्दै आएका दलहरु सिकेको बिजयबाट पक्कै पनि झस्किएका हुनुपर्छ। सिकेले इमान्दारिपूर्वक जनमतको कदर गर्दै जनताको हितमा काम गरे भने आगामी निर्वाचन पनि पुराना मधेशवादी दलहरुका लागि त्यति सुखद् नहुन पनि सक्छ। पुराना दलहरु पटक पटक परीक्षण भैसकेका छन्। उनीहरुले राष्ट्रिय हैसियत समेत बनाउन सकिरहेका छैनन्। जुट्नु र पटक पटक फुट्नु उनीहरुको नियति जस्तै देखिएको छ। यो टुटुफुटको एकमात्र कारण देखिएको छ– सत्ता!

अर्कोतिर मधेश क्षेत्रमा ठूला दलहरुको हैसियत पनि बिगतको जस्तो अवस्थामा रहेन। माओवादी केन्द्रले स्थानीय निर्वाचनमा पाए जति पनि मत यसपटक पाउन सकेन। नेपाली कांग्रेस र एमाले घटबडकै उतारचढावमा रहने गरेका छन्। प्रजातन्त्रको पुनस्थापना पछि यतिका समय दलहरुले नै राजकाज चलाउँदै आएका छन्। केही समय सक्रिय राजतन्त्रको प्रयाश गर्दा दलहरु सत्ता बाहिर थिए तर अरु समय उनीहरु नै राजकाज गरिरहेका छन्। यति लामो समय दलहरुको राज चल्दा पनि मधेशका जनता आधारभूत सुविधाबाट वञ्चित नै छन् भन्दा अन्यथा हुँदैन।

लोकप्रिय मत पाएर जितेका सिके राउतले जनताको यो पक्षलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ। उनी सप्तरीबाट निर्वाचित भएपनि मधेशको उन्नतिको लागि समर्पित भएर काम गर्ने उनले वाचा गरिसकेका छन्। उनको वाचालाई जनताले मत दिएर अनुमोदन गरिदिएका छन्। अब पालो सिकेको आएको छ। उनी आफ्नो वाचा पूरा गर्न कति इमान्दारीपूर्वक लाग्ने छन् त्यो अबका दिनहरुमा देखिने नै छ। सिकेले भविष्यमा गर्ने कामले विगतमा बनेको आशंकायुक्त उनको छवि सफा गर्न र विश्वास आर्जन गर्न मुख्य भूमिका निर्वाह गर्ने छ।

हिंसा साध्य होइन र कदापि हुनसक्दैन भन्ने कुरा अरु ठूला दलहरुले बुझिसकेका छन्। सबैभन्दा ठूलो हिंसा र विध्वंश गरेको माओवादी दल पनि अन्ततः शान्तिको बाटोमा अवतरण नगरी धर पाएन। वृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर मूलधारको राजनीतिमा जोडिएको माओवादीले जनमतको परीक्षामा टिक्न हम्मेहम्मे परेको महसुश गरेको हुनुपर्छ। संविधानसभाको पहिलो निर्वाचनदेखि मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्म आईपुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीलाई जनताले कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुरा त मत विवरण हेरे प्रष्ट हुन्छ।

जनमत लत्याएर हिंसाको बाटोमा जाँदाको परिणाम कस्तो हुन्छ भनेर जान्न कुनै अर्को देशको भ्रमण गर्नु आवश्यक भएन। देशकै अस्तित्वमाथि धावा बोलिसकेका सिके राउतले पनि समयमै शान्तिपूर्ण बाटोमा अवतरण गरेर वुध्दिमानी काम गरेका छन्। अहिले पाएको जनमत समर्थन पनि हो र चेतावनी पनि हो। राम्रो काम गर भनेर समर्थन भएको छ भने लोकतान्त्रिक प्रक्रियामा बस जनादेशको विकल्प नखोज भनेर चेतावनी पनि दिईएको हो। माननीय सिके राउतले यत्ति कुरा बुझेपछि उनीमाथिको रहेबचेको अविश्वास र शंका विस्तारै निवारण भएर जानेछ।  


 

प्रतिक्रिया