‘सट्टेबाजी’ गर्नेहरुको संलग्नतामा विराटनगरमा क्रिकेट प्रतियोगिता !

विराटनगर । बैजनाथपुरमा भइरहेको ‘सगरमाथा कप क्रिकेट’ प्रतियोगिता स्थागित भएको छ । विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर खेल मैदानमा भइरहेको नेपाल–भारत सम्मिलित टोलीबीचको प्रतियोगिता एक्कासी स्थगित भएपछि विवादमा परेको छ ।

खेलकुद गतिविधिमा आधारित ‘सट्टेबाजी’ गर्नेहरुको संलग्नताका कारण विवादित बनेको प्रतियोगिता अब सञ्चालन हुने, नहुने टुंगो छैन । खेलको प्रत्यक्ष प्रशारण गर्ने भनिएका तीनवटा कम्पनीको भूमिका यसमा शंकास्पद देखिएको छ ।

मोरङ प्रहरीले गैरकानुनी ‘सट्टेबाजी’ को पक्षलाई ख्याल गर्दै यसमा चासो देखाएको छ । एक प्रहरी अधिकृतका अनुसार महत्वपूर्ण प्रतियोगिता आयोजना गर्दा गैरकानुनी काम गर्नेहरु कसरी जोडिए र आयोजनाको अनुमति कसरी सहज भयो भन्ने कोणबाट अध्ययन भइरहेको छ ।

देशका प्रमुख तीनवटा विभागीय टोली, प्रदेशको क्रिकेट संघ र भारतका टिमसमेत सहभागी प्रतियोगिता ‘सट्टेबाजी’ गर्नेहरुको समेत संलग्नतामा कसरी आयोजना गरियो भन्ने प्रश्न पनि उठेको छ । आयोजना हुनुअघि सरोकारवाला निकायले त्यसबारे सम्पूर्ण जानकारी लिएर मात्र अनुमति दिनुपर्नेमा त्यसो गरिएको पाइँदैन ।

नेपाल क्रिकेट संघ प्रदेश १ को आयोजना तथा लेविन स्पोर्टसको प्रायोजनबाट प्रतियोगिता भएको थियो । दुवै संस्थाबीच कात्तिक ७ गते संघले प्रतियोगिता आयोजना गर्ने र लेविन स्पोर्टस आर्थिक व्यवसायिक साझेदार (आर्थिक प्रायोजक) को जिम्मा लिने गरी सहमति भएअनुरुप प्रतियोगिता आयोजना गरिएको लेविन स्पोर्टसका निर्देशक रोशन धितालले बताए । प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म गर्ने गरी सम्झौता भएको थियो ।

प्रतियोगिता स्थगित भएपछि आर्थिक कारोबार नहुँदा विवाद भएको हो । प्रतियोगिताको आर्थिक पक्ष सम्हाल्ने जिम्मा लिएको लेविन स्पोर्टसले खेलमा भाग लिन आउने टिम, खेलाडी र प्राविधिक बसेको होटल खर्च, मैदान व्यवस्थापन गरेकाहरुलाई रकम दिन नसकेपछि विवाद बाहिरिएको छ । आर्थिक विवादमा परेपछि लेविन स्पोर्टसका निर्देशकलाई जिल्ला प्रहरी मोरङमा राखेर सबै पक्षीय वार्ता गरेर विवाद मिलाउने काम भएको छ ।

प्रतियोगिता आयोजना गर्दा लागेको १० लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको धितालले स्वीकार गरे । ‘खर्च भएको सम्पूर्ण रकम खेलाडी, अफिसियल, होटललगायतलाई चाँडै भुक्तानी दिन्छु,’ निर्देशक धितालले भने, ‘प्रतियोगिताको प्रायोजक देश बाहिरको भएकाले त्यहाँबाट आउनुपर्ने रकम नआउँदा समस्या भएको हो ।’

नेपालका ३ वटा विभागीय टोली, आयोजक प्रदेश १ तथा भारतको पटनाको ध्रुव क्रिकेट एकेडेमी र गुवाहाटीको इष्टर्न रेल्वेबीच प्रतियोगिता भइरहेको थियो । यसलाई बेलायत र भारतमा रहेका फ्यानकोड, डाफा न्युज, ड्रिम ११ ले मुख्य प्रायोजन गरेका  थिए ।

‘प्रतियोगिता निरन्तर भइरहेको थियो,’ निर्देशक धितालले भने, ‘खेलको बीचबीचमा विद्युतलगायतको समस्याले गर्दा खेललाई प्रत्यक्ष प्रशारण गर्न नसकेपछि विदेशी संस्थाबाट गरिएको प्रायोजन रकम रोकिँदा समस्या भयो । खेल अनिश्चितकालका लागि स्थगित भएको हो, रोकिएको होइन । चाँडै प्रतियोगिताले निरन्तरता पाउँछ ।’

भारत र बेलायतमा कार्यालय रहेका फ्यानकोड, डाफा न्युज, ड्रिम ११ कम्पनीलाई यहाँको प्रत्यक्ष प्रशारणको ब्यान्डविथ दिने र त्यसवापत उनीहरुले लेविन स्पोर्टसलाई भुक्तानी दिइने सम्झौता भएको थियो । ३ वटा कम्पनीले खेलको प्रत्यक्ष प्रशारणमा गुणस्तर र निरन्तरता नभएपछि भुक्तानी नदिने भन्दै उनीहरु बाहिरिएका थिए । यी ३ वटा कम्पनी बिटिङ (सट्टेबाजी) गर्ने र उनीहरुले यहाँ भएको खेलको प्रशारण गरेर बिटिङ बजारमा बेच्ने गरिएको बताइएको छ ।

प्रदेश १ क्रिकेट संघका सचिव मनोज कटुवालका अनुसार प्रतियोगिताको सम्पूर्ण खर्चको जिम्मा लेविन स्पोर्टसले गर्ने गरी सम्झौता भएको हो । त्यही सम्भौताका आधारमा प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गर्नका लागि स्वीकृति दिएको   थियो ।

‘प्रतियोगित सफल भएपछि १ लाख रुपैयाँ प्रदेश क्रिकेट संघलाई दिने सम्झौता लेविन स्पोर्टससँग भएको थियो,’ सचिव कटुवालले भने, ‘खेल भइरहेको समयमा जेनेटरमा समस्या आएपछि खेलको प्रत्यक्ष प्रशारण हुन सकेन ।त्यसपछि प्रायोजन गर्ने भनिएको कम्पनीले खेलको प्रशारण नभएकाले पैसा दिन नसक्ने बताएपछि समस्या आएको हो ।’

खेल मैदानको अनुमतिका लागि जिल्ला खेलकुद विकास समितिलाई पत्र पठाएको र अहिले स्वीकृति दिन नसक्ने जानकारी दिइएको थियो। त्यसपछि समितिका अध्यक्षसँग लेविनका धितालले कुरा गरेपछि खेल भएको सचिव कटुवालले बताए । उनले समितिले प्रतियोगितामा भएको प्रायोजकबाट आउने ७५ प्रतिशत रकम माग गरेको जनाए ।

मंसिर ७ गतेदेखि भएको प्रतियोगिता ११ गतेसम्म भएको थियो । ११ गते इष्टर्न रेल्वे र नेपाल पुलिस क्बलबीच भइरहेको खेलबाट स्थगित भएको हो ।

 amgtimes.com ले लेखेको छ- प्रतियोगितामा नेपाल पुलिस क्बल, सशस्त्र प्रहरी बल, नेपाली सेना, आयोजक प्रदेश १ क्रिकेट संघ, भारत पटनाको ध्रुव एकेडेमी र गुवाहाटीको इष्टर्न रेल्वेको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोलीले ३ लाख र उपविजेता टोलीले १ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया