एमाले महाधिवेशनको बन्द सत्र आज

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ ।

बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले शुभकामना दिनेछन् । एमालेले आज नै उम्मेदवारी दर्ता र भोलि बिहानदेखि मतदानको निर्वाचन कार्यक्रम तय गरेको छ । केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको थियो । साथै ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा बरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया