लिङ्गको विवादले अपमानित महसुस गरेको छुः निशा चौधरी

पोखरा। पोखरामा शुक्रबारदेखि सुरु भएको नवौं बृहत राष्ट्रिय खेलकुदमा अहिले कुनै खेलाडीको अधिक चर्चा छ भने ती हुन्, निशा चौधरी। 

उनले शनिबार भएको एथलेटिक्सअन्तर्गत सय मिटर स्प्रिन्टतर्फ हिट्समा देवीमाया पनेरुको २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरिन्। उनले १२ दशमलव १५ सेकेण्डमा हिट्स पुरा गरेकी थिइन। पनेरुले सन् १९९९ मा आठौं साफमा सय मिटरतर्फ कीर्तिमान बनाएकी थिइन। 

तर, फाइनल इभेन्टमा निशा स्वर्ण जित्नबाट चुकिन्। उनलाई पदकका लागि भएको स्पर्धामा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले पराजित गरिन्। सरस्वतीले १२ दशमलव १३ सेकेण्डको नयाँ कीर्तिमानसहित स्वर्ण जितिन्। निशाले १२ दशमलव ५३ सेकेण्डमा दौड पुरा गर्दै रजत पदकमा चित्त बुझाउनु पर्यो। 

हिट्समा उनी जुन गतिमा दौडिरहेकी थिइन, त्यसले सबै प्रशिक्षकको मन मोहित पारेको थियो। उनको उमेर १८ वर्ष मात्र छ। र, यो उनको पहिलो राष्ट्रिय प्रतियोगिता हो।   

पहिलो राष्ट्रिय सहभागितामै उनले नेपाल आर्मी, नेपाल पुलिस तथा सशस्त्र प्रहरीका अनुभवी धाविकालाई जसरी तगडा चुनौती दिइन्, यसले नेपाली एथलेटिक्सको भविस्यलाई उत्साहित तुल्याएको छ।  

तर, उनको लिङ्गको विषयमा उठेको विवादले नेपाली खेलकुदलाई तरंगीत पारेको छ। निशाले गत असारमा काठमाडौंमा आयोजना भएको राष्ट्रपति रनिङ शिल्डमै आफ्नो प्रतिभा प्रस्फुटित गरिसकेकी थिइन। उनले सय मिटर, २ सय मिटर र लङजम्पमा स्वर्ण जित्दै तहल्का पिटेकी थिइन। यतिबेला पनि उनको लिङ्गलाई लिएर विवाद खडा भएको थियो। 

उनी राष्ट्रपति रनिङ शिल्डमा पनि लङजम्पतर्फ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी थिइन। नेपालका बरिष्ठ एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा निशामा थुप्रै प्रतिभा देख्छन्। जुन उमेरमा निशा १२ सेकेण्डको हाराहारीमा दौडिरहेकी छिन्, यसले भविस्यमा नेपाली स्प्रिन्टरलाई भारतीय खेलाडीको हाराहारीमा दौडिने सम्भावनाको ढोका खुलेको राणाको भनाई छ। 

अहिले भारतीय स्प्रिन्टर ११ सेकेण्डकाे हाराहारीमा दाैडिरहेका छन्। निशा एथलेटिक्समा प्रवेश गर्दै गरेकी प्रतिभा हुन्। उनलाई २ वर्ष राम्राेसँग प्रशिक्षण गर्ने हाे भने भारतीय खेलाडीलाई भविष्यमा मज्जाले टक्कर दिन सक्छिन्। 

तर, लिङ्ग विवादले प्रशिक्षक राणा पनि खिन्न छन्। भन्छन्, ‘उनी महिला हुन कि, पुरुष यसको निक्यौंल छिट्टै गर्नुपर्यो। मेडिकल चेकअप गरेर भए पनि उनको प्रतिभालाई मार्नु भएन।’

झट्ट हेर्दा केटा मान्छे जस्तै लाग्ने उनको अनुहारका कारण यतिबेला धेरै टिकाटिप्पणी भइरहेको छ। नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्रका खेलाडीहरूले उनको विषयमा प्रश्न पनि उठाइरहेका छन्। तर, उनको विषयमा नेपाल एम्एच्योर एथलेटिक्स संघले वास्तवमै ‘एम्एच्योर’ रवैया उठाइरहेको छ। 

नेपाल प्रहरीकी बसन्ती चौधरी लामो समयसम्म यस्तो अफवाहमा खेलाडीलाई राख्न नहुने बताउँछिन्। यसपालि लुम्बिनीका दुई महिला खेलाडी निशा चौधरी र संगीता अधिकारीको लिङ्गलाई लिएर बढि नै कुरा उठेको छ। 

संगीताले सर्टपुटतर्फ शनिबार रजत पदक जितेकी थिइन। 

आफ्नो लिङ्गको विषयमा एकहोरो कुरा उठाइरहँदा अपमान महसुस गरेको निशा चौधरीले दृश्य टिभीलाई बताइन्। उनले भनिन्, ‘दिदीहरूले यस्तो कुरा उठाउँदा पिडा हुन्छ। म अझै राम्रो गरेर देखाउँछु।’

निशाको लिङ्गको विषयमा लुम्बिनी एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीले पनि घर परिवारसँग कुराकानी गरेको बताइन्।

‘उहाँहरूले निशा छोरी नै भएको बताउनु भयो। निशाको नागरिकतामा पनि महिला नै जनाइएको छ,’ पद्माले भनिन्। 

पद्मा निशाको ‘मेण्टर’ पनि हुन्। तीन वर्षअघि लुम्बिनी प्रदेशस्तरीय खेलमा निशालाई हाइजम्प र सय मिटर दौडिएको देखेपछि पद्माले नै स्प्रिन्टमा बढी ध्यान दिन सुझाव दिएकी थिइन। 

नवौं बृहत राष्ट्रियमा निशाले सय, २ सय र लङजम्पतर्फ भाग लिएकी छिन्। उनको भोलि २ सय मिटरको दौड हुँदैछ। ‘सय मिटरको हिट्समा राष्ट्रिय कीर्तिमान तोडेपछि बढी नै आत्मविश्वासी भएको थिए। त्यसैले स्वर्ण जित्न सकिन्,’ उनले भनिन्, ‘भोलि २ सय मिटरमा स्वर्ण जित्ने लक्ष्य हुनेछ।’ सोमबार उनले लङजम्पमा प्रतिस्पर्धा गर्नेछिन्। 

निशा हाल दाङमा शिक्षा विषय लिएर स्नातक गर्दैछिन्। उनी आफ्नो परिवारमा सबैभन्दा बढी पढेकी सदस्य हुन्। उनको पिता आर्थिक अभावका कारण भारतमा रोजगारी गर्छन्। त्यसैले घर चलाउने सम्पूर्ण जिम्मा उनको काँधमा छ। उनीमाथि दुई दिदी छन्। एउटा भाई उनकै पथ समातेर खेलाडी बन्ने उद्देश्यका साथ अभ्यासमा तल्लीन छन्। 

छोरीको सफलताले निशाको परिवार पनि निकै गद्गद् छ। शनिबार उनले सय मिटर स्पर्धामा भाग लिँदै गर्दा आमाले दाङबाट प्रशिक्षक पद्मालाई भिडियो कल गरेर छोरीको दौड देखाउन आग्रह गरेकी थिइन। 

तर, यतिबेला छोरीको लिङ्गको विषयमा उठेको विवादले यो परिवार दुःखी छ।  
 

प्रतिक्रिया