एक प्राध्यापकको डेङ्गु अनुभव

यसपाली काठमाडौंमा फोहोर लगभग तीन महिना जति जम्मा भएर वसेको थियो। तीन महिनासम्म फोहोर नउठेको हुनाले दुर्गन्ध बढ्नुको साथै लामखुट्टे पनि बढेको हामी सवैले अनुभव गरेकै बिषय हो। त्यो लामखुट्टे, कालोमा सेतो छिर्के रङ्गको लामखुट्टे, मच्छरले भदौ २१ गते दाहिने हातमा मलाई टोकेको थियो। मेरा साथीहरुलाई पनि त्यसले निकै सताइसकेको कुरा सुनिरहेको थिएँ। त्यसको  ७ दिनपछि टाउको भारी हुने, खान मन नलाग्ने, निद्रा नलाग्ने भएकोले निकै छट्पटीकै बीचमा दिन वित्यो। तैपनि डेङ्गु नै हो भन्ने मैले चाहिं शंका गरें। असोज १ र २ गते पहिलो र दोश्रो दिन ज्वरो मापन गर्दा सरदर १०२ डिग्री रेकर्ड भयो। त्यसपछि सिटामोल खाना सुरु गरियो।

अनि यस्तो भयो  

ज्वरो लगातार आइ नै रह्यो। रातभरी सुत्न सकिएन। शास फेर्न कठिनाई भयो। खाना मन लागेन। सवै तीतो तीतो भयो। आँखा, पिँडुला र टाउको दुख्न थाल्यो। वान्ता होला कि होला कि जस्तो लक्षण बढ्न थाल्यो। अनि डाक्टरहरु साथीहरु, अनुभवी विरामीहरुको अनुभव वुझेर अव औषधी खान थालियो। यदि समयमा औषधी नपुगेको भए रगतमा तातोपना बढी प्लेटलेटस घटेर ५० हजार भन्दा कम भएपछि शरीरमा वान्ता हुँदै जाने, साना साना तन्तु फुट्ने र लगातार रक्तश्राव हुने खतरा पनि यसपटक थाहा पाइयो। 

औषधी र खाना 

तीन दिन १२ वटा सिटामोल र ४ वटा मल्टीभिटामिन खाइयो। अमिलो, पीरो, चिल्लो खान बन्द गरियो र आराम गर्न थालियो। 

बल्ल चारदिनपछि ज्वरो नियन्त्रणमा आयो। स्याउ, सुन्तला, काजु, दुध, तातो पानी, जाउलो पनि खाइयो। ओछ्यान पनि विझाउन थाल्यो। करिव १ गते देखि ८ गतेसम्मको अनवरत औषधी सेवनबाट आज अलिकति हिँड्न हिम्मत गरियो। 

समस्या के भयो भने घाँटीमा गालाको भित्रपट्टी साना साना विमीरा जस्ता खटिरा आएर फुटेछन्। त्यसले खाना खान र निल्नलाई पनि वाधा गर्यो। फलफूल मात्र खाँदा खाँदा त्यसमा भएको सुगर, बढेर रगतमा धेरै एलर्जी भएको जस्तो गरी चिलाउन पनि थाल्यो। त्यसरी चिलाउँदा रातभरी महाकष्ट सहेर विताइयो। त्यसपछि फलफूल समेत वन्द गरियो। नरीवलको पानीका लागि २ वटा नरिवल किनेर, पानी निकालेर खाने काम गरियो। त्यसले शरीरमा शितलता बढ्यो। तागतिलो शक्तिवद्र्धक खाना, अण्डा, खसिको मासु, कुखुराको सुप बनाएर पिउने काम गरेमा छिटो खुट्टा टेक्न सकिने रहेछ। मलाई यस्तो अनुभव पनि मिल्यो।  

त्यसरी ९ दिनका दिनबाट आज अलि अलि काम गर्न सक्ने भइयो।

सावधानी र सचेतना 

पुरा वाउला भएको लुगा लगाएर वस्न, पानी जम्ने खाल्डो पुर्न, सरसफाइ गर्न, झारपातहरु नराख्न, फोहर मैला भएका ठाउँको सरसफाई गरी त्यसलाई सुव्यवस्थित गर्न, कोठामा धुप वाल्न, झुल लगाएर सुत्न, विद्युतीय व्याट प्रयोग गरी लामखुट्टे मार्न र हात खुट्टामा नरिवलको तेल लगाएर मालिश गर्न पनि उपयुक्त हुने रहेछ। सबैलाई यो मेरो अनुभवमा आधारित सरसल्लाह शेयर गर्न चाहन्छु। 

यसमा मेरो स्वास्थ्यका लागि चिन्ता गरी, भेट्ने र सरसल्लाह, सुझाव दिने, प्रार्थना गरी मलाई हौसला दिएर आत्मवल बढाई दिने सवै सज्जनहरुमा म सधन्यबाद आभार प्रकट गर्दछु।

 (प्राध्यापक डा. नृसिंहकुमार खत्रीको अनुभव हो यो)


 

प्रतिक्रिया