आसिफको शतकमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं। आसिफ शेखको शतकीय इनिङका कारण घरेलु केन्यालाई ७ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय खेलमा उत्कृष्ट सुरुवात गरेको छ। नैरोवीस्थित जिमखाना मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको २ सय १९ रनको लक्ष्य नेपालले १६ बल बाँकी रहँदा पुरा गर्यो। यो जितसँगै तीन एकदिवसीय शृंखलामा नेपालले १–० को अग्रता बनाएको छ। 

नेपाली जितका नायक आसिफले १ सय १० रन बनाए। उनले १ सय २० बल खेल्ने क्रममा १२ चौका र २ छक्का प्रहार गरे। अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले पनि ९७ बल खेल्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे। ज्ञानेन्द्र मल्लले २४ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित १५ र रोहित कुमार पौड्यालले ३ रन जोडे । 

टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १८ रन बनायो । केन्याका लागि रकिप पटेल (६७) र कोलिन्स ओबुया (६२) ले अर्धशतकीय इनिङ खेल। ईफ्रान करिमको नाममा ३१ रन रहयो। नेपालका लागि सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफ पनि एक–एक विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ। 

प्रतिक्रिया