केन्याविरूद्ध नेपालको सुरुवाती जित, सोमपाल ‘म्यान अफ दि म्याच’ 

काठमाडौं। नेपालले टी–२० आईअन्तर्गत पहिलो खेलमा घरेलु केन्यालाई ५ विकेटले पराजित गरेको छ। 

१ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले खेल सकिन ५ बल बाँकी रहेको अवस्थामा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनायो।

जितसँगै नेपाल ५ टी–२० आई शृंखलामा १–० ले अगाडि देखिएको छ। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे। मध्यक्रममा आरिफ शेखले १५ बलमा ३ चौका र १ छक्कासहित अविजित २४ रन बनाए। लामो समयपछि पुनः टिममा फर्किएका ज्ञानेन्द्र मल्लले ३० बलमा ३ चौकासहित २३ रन बनाए। आशिफ शेख २७ बलमा ३ चौकासहित १९ रनमा आउट भए। उप कप्तान रोहित कुमार पौडेलले १४ बलमा १ चौकासहित १३ रनको योगदान गरे। 

केन्याका लागि लुकास ओलुओच र विराज पटेलले २–२ विकेट लिए। नेरोबीस्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रनको योगदान गरे। उनले ४४ बलमा ३ छक्का प्रहार गरे। लुकास ओलुओचले १३ बलमा ५ चौका र १ छक्कासहित अविजित ३० रन जोडे।

नेपालका तीव्र बलर सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेको नाममा ४ ओभरमा ३३ रन खर्चेर २ विकेट रह्यो। आदिल अन्सारी र ऐरीले १–१ विकेट लिए। खेलको म्यान अफ दी म्याच सोमपाल कामी घोषित भए।

प्रतिक्रिया