नागरिकता विधेयक जस्तो गम्भीर विषयलाई टाउको गन्तीको आधार नबनाऔंः प्रदीप ज्ञवाली 

काठमाडौं। नागरिकता विधेयक जस्तो गम्भीर विषयलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरेको छ। राष्ट्रपतिले केही बुँदाको सुझावसहित फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा पुनः छलफल हुँदा एमाले उप–महासचिव प्रदीप ज्ञवालीले यस्तो भनाई राखेका हुन्।

उनले नागरिकता विधेयकमा जनमत विभाजित गर्न नहुने भन्दै राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताए। ‘सत्तासँग बहुमत भए पनि यो हेड काउन्ट गर्ने विषय होइन,’ उनले भने,‘जबर्जस्ती गरेर टाउकोको गन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन।’ 

उनले नागरिकता जस्तो संवेदनशील विषयमा देश र जनमतलाई विभाजन गर्ने काम उचित नभएको बताए। ‘हामीलाई एउटा अवसर प्राप्त भएको छ। छिटोभन्दा छिटो यो टुंग्याउनु जरूरी छ’, उनले भने, ‘यसमा प्रमुख प्रतिपक्ष दल रचनात्मक ढंगले सहयोग गर्न तयार छ। तर यसलाई जबरजस्ती गरेर टाउकाको गन्ती गरेर यसको आधारमा गरियो भने परिणाम र दुश्परिणामहरू राम्रो हुँदैनन्।’

उनले २०३५ सालमा राजा वीरेन्द्रले पञ्चायतालाई जिताउन टाउकाको गणना गरेको तर त्यो धेरै नटिकेको बताए। उनले पेलेर नागरिकता विधेयक अगाडि बढाएमा समाज विभाजित हुने र यसले गम्भीर परिणाम ल्याउने बताए। 

उनले संसद नियमावलीको दफा १११ को उपदफा १०७ अनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताए।

प्रतिक्रिया