मनिषा बनिन् पाकिस्तानको पहिलो हिन्दु डिएसपी

काठमाडौं। अल्पसंख्यक हिन्दु समुदायमाथि हुने गरेको खराब व्यवहारका कारण पाकिस्तान अन्तर्राष्ट्रिय रूपमा बदनाम छ। तर, हिजोआज अन्तर्राष्ट्रिय मिडियाले पाकिस्तानमा भएको एउटा घटनालाई लिएर खुब तारिफ गरेका छन्। त्यो घटना हो, पाकिस्तानमा पहिलो पल्ट अल्पसंख्यक हिन्दु युवती मनिषा रुपेता डिएसपी बनेकी छिन्। 

मनिषा सिन्ध प्रान्तबाट प्रतिनिधित्व गर्छिन। सिन्ध प्रान्तमा हरेक वर्ष हजारौं हिन्दु युवती अपहरण र जबदस्ती धर्मपरिवर्तनको शिकार हुने गरेका छन्। केही महिनाअघि मात्र महिलामाथि हुने गरेको अत्याचारलाई लिएर सिन्ध प्रान्तका गृहमन्त्रीले इमर्जेन्सी घोषणा गरेका थिए। 

पाकिस्तान जस्तो कट्टर मुस्लिम देशमा हिन्दु युवती प्रहरीको उच्च ओहदामा पुग्नुलाई आश्चर्यकोे रूपमा हेरिएको छ। पाकिस्तानमा त्यसै पनि आमधारणा यो छ, राम्रो घरको महिला प्रहरी र अदालतामा जादैनन्। मनिषाले पाकिस्तानको योे सोचलाई परिवर्तन गरेकी छिन्। 

मनिषाले बीबीसी समाचारलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘केटाकेटीदेखि नै मलाई महिलाले कुन काम गर्नु हुन्छ, कुन गर्नु हुन्न भनेर सम्झाउने गरिन्थ्यो। त्यसैले म पुलिसमा भर्ति भएर यो धारणालाई परिवर्तन गर्न चाहन्थे।’

मनिषा पहिले डाक्टर बन्न चाहन्थिन्। तर, डाक्टर बन्न एक नम्बर नपुगेपछि उनको करिअरले युटर्न लिएको थियो। उनले सिन्ध प्रान्तको लोकसेवा परीक्षामा १६ नम्बरमा नाम निकालेकी थिइन। 

जर्मनीको सरकारी च्यानल डोयच वेलेको रिपोर्ट अनुसार पाकिस्तानमा हरेक वर्ष हजारभन्दा बढी अल्पसंख्यक युवतीको अपहरण गरेर जबरदस्ती ठूलो उमेरका मुस्लिम पुरुषसँग निकाह गर्ने गरिन्छ। 

Manisha-Ropeta

सिन्धको जाकुबाबादमा घर भएकी मनिषाले आफ्नो पिताको निधनपछि भोग्नु परेको कष्टकर जीवनका बाबजुद पढाईलाई निरन्तरता दिएकी थिइन। अहिले उनले इतिहास रचेकी छिन्। 

पाकिस्तानको सिन्ध प्रान्तको शरदादकोटमा बसोबास गर्ने सुमन बेदानीले सन् २०१९ मा न्यायाधीस बनेर अर्को इतिहास रचेकी थिइन। उनी पाकिस्तानमा न्यायाधीस बन्ने पहिलो हिन्दु महिला हुन्। सिन्ध विश्वविद्यालयबाट एलएलबीको पढाईं पुरा गरेकी सुमनले न्यायलयको सेवा परीक्षामा ५४ औं नम्बरमा नाम निकालेकी थिइन। 

यस्तै, २०१८ मा कृष्णा कोहली नाम गरेकी हिन्दु महिला पहिलो पल्ट सांसद निर्वाचित भएकी थिइन। उनी बेनजिर भुट्टोको पार्टी पाकिस्तान पिपुल्सबाट प्रतिनिधित्व गर्दै रेगिस्तान क्षेत्र थारपारकरबाट चुनाव उठेकी थिइन। उनी राम्रो मत ल्याएर विजयी भइन। उनको पिता मजदुर थिए। कृष्णाले पनि स्थानीय जमिन्दारको घरमा बंधुवा मजदुर भएर काम गरेकी थिइन। अहिले उनी सांसदमा महिला अधिकारको कुरा उठाउँछिन्। 

प्रतिक्रिया