धवनले तोडे २३ वर्ष पुरानो अजहरको रेकर्ड

पोर्ट अफ स्पेन। वेष्ट इन्डिजविरूद्ध तीन एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा भारतीय कप्तान शिखर धवनले ९७ रन बनाउने क्रममा पूर्व भारतीय कप्तान अजहररुद्धिनको २३ वर्ष लामो कीर्तिमान भंग गरेका छन्। 

धवन सबैभन्दा बढी उमेरमा अर्धसतक बनाउने कप्तान बनेका छन्। यसअघि यो कीर्तिमान अजहरको नाममा थियो। उनी नर्भस नाइन्टीको शिकार हुने विराट कोहलीभन्दा पनि अगाडि निस्किएका छन्। 

अजहरले ३६ वर्ष १ सय २० दिनमा अर्धसतक बनाएका थिए। त्यो ८ जुन, १९९९ विश्व कपको कुरा थियो। उनले म्यानचेस्टरमा पाकिस्तानविरूद्ध ५९ रन बनाएका थिए। धवनले शुक्रबार राती ३६ वर्ष २ सय २९ दिनमा अर्धसतक बनाएका हुन्। 

यस्तै उनी छैटौं पल्ट नर्भस नाइन्टीको शिकार भए। उनी ३ रनले सतक बनाउन चुके। भारतीय क्रिकेटमा सबैभन्दा बढी नर्भस नाइन्टीको शिकार सचिन तेन्दुलकर भएका छन्। उनी १७ पल्ट नर्भस नाइन्टीको शिकार भएका थिए। धवन अहिले सौरभ गागुलीको बराबरीमा पुगेका छन्। गागुली पनि ६ पल्ट नर्भस नाइन्टीको शिकार भएका थिए। उनी विराट र वीरेन्द्र सहवागभन्दा अगाडि निस्किएका छन्। यी दुवै ५–५ पल्ट नर्भस नाइन्टीको शिकार भएका थिए। 

धवनलाई तीन वर्षपछि सतक बनाउने मौका जुरेको थियो। सन् २०१९ को विश्व कपमा अस्ट्रेलियाविरूद्ध सतक बनाएयता उनी यो मौकाबाट चुकिरहेका छन्। भारतले पहिलो एकदिवसीय ३ रनले जितेको छ। वेष्ट इन्डिजले अन्तिम ओभरमा आवश्यक १५ रन बनाउन सकेन। वेष्ट इन्डिजको लगातार सातौं एकदिवसीय पराजय हो। भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो। वेष्ट इन्डिजले ६ विकेटमा ३ सय ५ रन मात्र बनायो। 
 

प्रतिक्रिया