श्रीलंकाको ‘भगौडा’ राष्ट्रपति, राजपक्षे युगको समाप्ती

कोलम्बो। श्रीलंकामा ‘इमर्जेन्सी’ लागु भएको छ। राष्ट्रपति गोटबाया राजपक्षें सेनाको हेलिकोप्टरबाट भागेर माल्दिभ्स पुगेपछि यतिबेला राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारी आक्रोसित भएका छन्।  

राष्ट्रपति राजपक्षें भागेको समाचार सुनेपछि आक्रोसित जनता सडकमा उत्रिएका हुन्। हजारौंको संख्यामा युवादेखि केटाकेटीसम्मको भिडले संसद भवनतर्फ मार्चपास गरेपछि प्रधानमन्त्री रानिल विक्रमसिंघेले ‘इमर्जेन्सी’ को घोषणा गरेका हुन्। 

बुधबार बिहानदेखि नै राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारी तथा प्रहरीबीच झड्पको समाचार छ। हालसम्म झड्पमा १२ जना घाइते भएको स्थानीय समाचार एजेन्सीले बताएका छन्। 

यसअघि राजपक्षेंले पदबाट राजीनामा गरेको तथा अन्तरिम राष्ट्रपतिको चयन बुधबार हुने बताइएको थियो। प्रदर्शनकारीहरू राष्ट्रपतिलाई भाग्न दिएको भन्दै प्रधानमन्त्रीसँग पनि आक्रोसित देखिएका छन्। भिडले प्रधानमन्त्रीको आवास पनि घेराउ गरेको छ। 

श्रीलंकाको एयरफोर्स मिडिया निर्देशकले राष्ट्रपति गोटबाया राजपक्षें, प्रथम महिला तथा उनको दुई बडिगार्ड माल्दिभ्स गएको जानकारी दिँदै भने, ‘रक्षा मन्त्रालयबाट इमिग्रेसन, कस्टम र बाँकी कानुनलाई आधार बनाएर माल्दिभ्स जाने अनुमति प्रदान गरिएको हो।’ 
१३ जुलाईको बिहान उनलाई एयरफोर्सले एउटा विमान उपलब्ध गराएको हो। 

गोटबाया ८ जुलाईदेखि नै कोलम्बोमा देखिएका थिएनन्। उनी मंगलबार अर्थात १२ जुलाईमै नौसेनाको जहाजबाट भाग्ने तयारीमा थिए तर पोर्टको इमिग्रेसनले उनलाई बाहिर जान स्विकृति प्रदान गरेन। 

गोटबाया देश छोडेर माल्दिभ्स भागेपछि श्रीलंकामा ‘राजपक्षें युग’ को अन्त्य भएको छ। गोटबायाका दाजु महिन्द्रा राजपक्षें सन् २००५ देखि २०१५ सम्म १० वर्ष लगातार राष्ट्रपति भए। सन् २०१९ देखि यता २ वर्ष ७ महिना गोटबायाले राष्ट्रपति भएर देश सञ्चालन गरेका थिए। 

उनी यतिबेला आफै भागेका हुन कि उनलाई भगाउन अहिलेको सत्ताले पनि सहयोग गर्यो भन्ने प्रश्न उठेको छ। उनले राष्ट्रपति पदबाट राजीनामा गर्नुअघि देश छोड्ने मौका दिन आग्रह गरेको बताइएको छ। राजपक्षेंले १२ जुलाईमै आफ्नो राजीनामा उच्च अधिकारीहरूलाई सुम्पिसकेका थिए। यो चिट्ठी १३ जुलाई अर्थात बुधबार सभामुख महिन्द्रा यापा अभयवद्र्दनेलाई सुम्पिनु पर्ने थियो। तर, उनी बिहानै सेनाको विमानबाट भागेका छन्। यसले गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। 

गोटबाया यसअघि अमेरिका भाग्न चाहन्थे। तर, अमेरिकाले उनलाई भिसा उपलब्ध गराउन चाहेन। राष्ट्रपति हुनुअघि गोटबायाको श्रीलंका र अमेरिकामा गरी दोहोरो नागरिकता थियो। तर, सन् २०१९ मा चुनाव लड्न उनले अमेरिकी नागरिकता परित्याग गरेका थिए। 

राष्ट्रपतिका भाई तथा पूर्व अर्थमन्त्री बेसिल राजपक्षें पनि भागेर अमेरिका जाने तयारीमा थिए। तर, विमानस्थल कर्मचारीले उनको विरोध गर्दै इमिग्रेसनबाटै फर्किन बाध्य बनाएका थिए। 

अब श्रीलंकाको अन्तरिम राष्ट्रपतिमा विपक्षी समागी जाना बालवेगया (सीजेबी) का प्रमुख सजित प्रेमदासा नियुक्त हुनेछन्। 

प्रतिक्रिया