के शिन्देलाई मुख्यमन्त्री बनाउनु भाजपाको ‘मास्टर स्ट्रोक’ हो? 

मुम्बई। भारतीय जनता पार्टी (भाजपा) को केन्द्रिय नेतृत्व जनतालाई अचम्मित पार्न कुनै मौका चुकाउँदैन। बिहीबार एकपल्ट फेरि सबैलाई चकित तुल्याउँदै उसले एकनाथ शिन्देलाई महाराष्ट्रको मुख्यमन्त्री घोषित गर्यो। के यो भाजपाको ‘मास्टर स्ट्रोक’ हो?

महाराष्ट्रमा बिहीबार राजनीतिले पुनः कोल्टे फेर्यो। एक पल्ट फेरि शिव सेनाका बागी नेता एकनाथ शिन्दे भाजापाको समर्थनले मुख्यमन्त्री बने। बधाईको लड्डु खाइसकेका भाजापाका नेता देवेन्द्र फडणवीसले उपमुख्यमन्त्रीमा खुम्चिनु पर्यो।  

शिव सेना प्रमुख उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा गरेपछि एकनाथ शिन्देले राज्यको २० औं मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गरे। ३१ महिना सरकारको नेतृत्व गरेका ठाकरेविरूद्ध एकनाथलगायत दर्जनौं सांसद बागी बनेपछि उनको सरकार ठलेको थियो।

शिन्दे मुख्यमन्त्री बन्दै गर्दा थुप्रै रोचक घटना देखा पर्यो। बिहीबार साँझ पत्रकार सम्मेलनमा फडणवीसले भनेका थिए, भाजपा सरकारमा समावेश हुँदै छैन। तर, केही समयपछि नै भाजपाको केन्द्रिय समितिले घोषणा गर्दै पार्टी सरकारमा समावेश हुने जानकारी दियो। 

पूर्व मुख्यमन्त्री तथा शिव सेना अध्यक्ष उद्धव ठाकरेले एकनाथ शिन्देलाई मुख्यमन्त्री नियुक्त भएपछि बधाई दिए। तर, विश्लेषकहरू यो घटनालाई शिव सेनामाथिको ठूलो प्रहारको रूपमा हेर्छन। लेखक आनन्द रंगनाथन भन्छन्, ‘गैर–ठाकरे मुख्यमन्त्री बन्नु ठाकरे परिवारका लागि ठूलो झट्का हो। भाजपाबाट कुनै नेता मुख्यमन्त्री बन्नु ठाकरे परिवारका लागि त्यति ठूलो पिडा हुदैन्थ्यो, जति गैर–ठाकरे शिव सैनिक मुख्यमन्त्री बन्नु। बदला जति रुखो हुन्छ, त्यति नै क्रुर पनि। तर, यत्तिको क्रुर? गजब गर्यौ देवेन्द्र फडणवीस तिमीले।’

एकनाथ शिन्देलाई मुख्यमन्त्री बनाउने घटनालाई अमित शाहको ‘मास्टर स्ट्रोक’ को रुपमा हेरिएको छ। लेखक तथा राजनीतिक विश्लेषक राजीव गुप्ताले यसलाई ‘मास्टर स्ट्रोक’ भनेका छन्। लेखक सञ्जय झाले भने शिव सेनालाई दुई टुक्रा बनाउने अभियान भनेका छन्। उनी लेख्छन्, ‘के यो मास्टर स्ट्रोक नै हो? होइन। आज एकनाथ शिन्देलाई मुख्यमन्त्री बनाउन इच्छुक हुने भाजपा २०१९ मा उद्धव ठाकरेलाई वचन दिएर किन पल्टियो? यो सबै शिव सेनालाई फुटाउने मौका कुरेर बसेको राजनीति हो। शिन्दे कठपुतली मुख्यमन्त्रीमा सावित हुने छन्।’

भाजपा अध्यक्ष जेपी नड्डाले भने, ‘केन्द्रिय नेतृत्वले देवेन्द्र फडणवीसलाई निर्देशन दिएको छ, उहाँलाई उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न।’ लगत्तै केन्द्रिय गृहमन्त्री अमित शाहले ट्वीटमार्फत भने, ‘फडणवीसले ठूलो ह्दय देखाए। जेपी नड्डाको सल्लाहमा फडणवीसले ठूलो मुटु देखाउँदै महाराष्ट्रको जनताको लागि सरकारमा समावेश हुने निर्णय गरे।’ 

भारतीय अखबार इन्डियन एक्सप्रेसले लेखेको छ, ‘नरेन्द्र मोदीले सिधैं फडणवीससँग कुराकानी गरेका थिए।’ मोदीले ट्वीटरमा फडणवीसको तारिफ पनि गरेका छन्। मोदीले लेखका छन्, ‘देवेन्द्र फडणवीसलाई महाराष्ट्रको उपमुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिएका कारण बधाई। उनी हरेक भाजपायी कार्यकर्ताका लागि प्रेरणा बनेका छन्। उनको अनुभव र विशेषज्ञता सरकारका लागि मूल्यवान हुनेछ। मलाई विश्वास छ, उनले महाराष्ट्रको विकासको गतिलाई थप बलियो बनाउने छन्।’

महाराष्ट्रको २ सय ८८ विधानसभा सिटमध्ये भाजपाको मात्र १ सय ६ सिट छ। उ महाराष्ट्रको सबैभन्दा ठूलो पार्टी पनि हो। तर, ३९ सदस्यको समर्थन भएको एकनाथ शिन्देलाई मुख्यमन्त्री बनाउने घोषणा भाजपा नेता फडणवीसले नै गरे। यसपछि शिन्देले भाजपालाई धन्यबाद दिए।

शिन्देले भने, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा र देवेन्द्र फडणवीसप्रति आभार प्रकट गर्न चाहन्छु। यो सरकारले सामान्य नागरिकको हितलाई ध्यानमा राख्ने छ। हामी महाराष्ट्रलाई बलियो सरकार दिनेछौं। मुख्यमन्त्रीको रुपमा फडणवीसले म प्रति जुन विश्वास देखाउनु भएको छ, त्यसलाई म पुरा गर्ने वचनवद्धता दिन चाहन्छु।’

शिन्देले फडणवीसको ठूलो मुटुको तारिफ गरेका छन्। उनले भने, ‘१२० सांसद भएको पार्टीले यस्तो निर्णय गर्दैन। उनले चाहना राखेको भए, मुख्यमन्त्री पद उनीसँग हुन सक्थ्यो। तर, उनले ठूलो ह्दय देखाए र बाला साहेबको शिव सैनिकलाई मुख्यमन्त्री बनाए।’

उद्धवभन्दा अघि महाराष्ट्रको मुख्यमन्त्री भइसकेका फडणवीसले भने, ‘हामी सत्ताको पछाडि छैनौं। यो विचारधारा र हिन्दुत्वको लडाईं हो। त्यसैले भाजपाले एकनाथ शिन्देलाई समर्थन गर्ने निर्णय गरेको हो।’ शिव सेनाले २०१९ मा कांग्रेस र एनसीपीसँग मिलेर सरकार बनाएको थियो। जसलाई भाजपाले हिन्दुत्व विरोधी सरकार भन्दै आलोचना गर्दै आइरहेको थियो। 
 
 

प्रतिक्रिया