छिमेकमा राजनीतिक हलचल

बाला साहेबको शिव सेनामा सिन्देको करौँती

काठमाडौं। कुनै बेला मुम्बईमै बसेर दिल्लीको सरकार हल्लाउँथे, शिवसेना प्रमुख बाला साहेब ठाकरे। उनी कहिल्यै सत्ताको पछाडि कुदेनन्, तर सत्ता सधैं उनको वरिपरी घुमिरह्यो। यतिबेला उनका छोरा उद्धव ठाकरे भारतीय राजनीतिमा मात्र होइन, मुम्बईकै राजनीतिमा निरीह देखिएका छन्। 

आफ्नो बाबुले स्थापना गरेको शिवसेना कमजोर मात्र होइन, विखण्डनको संघारमा पुगेको छ। १० दिन लामो राजनीतिक खिचातानीका बीच उनकै पार्टीका नेता एकनाथ सिन्दें बिहीबार ४९ बागी सांसद बोकेर सरकार बनाउँदै छन्। 

यी १० दिनमा सिन्देंको घरमा तोडफोड मात्र भएन, परिवारलाई ज्यानमार्ने धम्कीसमेत प्राप्त भयो। तर, मुम्बईको मुटुमा रहेको ठाणेंंको ‘बाल ठाकरे’ उपमा पाएका उनी शिव सैनिकको उपद्रोलाई वेवास्था गर्दै भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर सरकार बनाउँदै छन्। 
उद्धवले सरकार टिकाउन यसबीच प्रयास नगरेका होइनन्। तर, उनको सबै प्रयास सिन्देंका कारण विफल भयो। सरकार टिकाउन बुधबार रातीसम्म उद्धवले धेरै दौडधुप गरे। तर, भारतको सर्वोच्च अदालतले उद्धव सरकारलाई विश्वासको मत लिन आदेश दिएपछि राती नै उनले महाराष्ट्रको मुख्यमन्त्री पदबाट राजीनामा दिए।  

बाला साहेब भन्ने गर्थे– शिव सेना प्रत्यक्ष राजनीतिमा होम्मिने होइन, राजनीतिलाई आफ्नो नियन्त्रणमा राख्ने हो। 

यस सिद्धान्तलाई शिव सेनाले उनको निधन नहुँदासम्म अविचलित पालना गर्यो। तर, बाला साहेबको निधनसँगै उनको छोरा उद्धव राजनीतिमा हाेम्मिए र पिताको सिद्धान्त विपरित सरकारकै नेतृत्व गर्न पुगे। यसको नतिजा अहिले देखा परेको छ। 

उद्धवसँग निकै निकट रहेका तथा शिव सेनाको मुखपत्र सामना पत्रिकाका सम्पादक संजय राउतले महाराष्ट्रको सरकारबाट सत्ताच्यूत हुनुपरेको घटनालाई यसरी बयान गरेका छन्, ‘शिव सेना सत्ताका लागि जन्मिएको होइन। सत्ता शिव सेनाका लागि जन्मिएको हो। यो बाला साहेबको मन्त्र हो। हामी फेरि काम गर्नेछौं र आफ्नै मिहिनेतले पुनः सत्तामा पुग्नेछौं। हामीलाई आफ्नैले धोका दिए। आफ्नै मान्छेले चक्कु घोपे।’

विगतलाई फर्केर हेर्दा महाराष्ट्रमा शिव सेना फुटेको यो चौथो घटना हो। तर, पार्टीभित्र यति ठूलो विद्रोह भएको यो पहिलो पटक हो। 

सबैभन्दा पहिले सन् १९९१ मा शिव सेना फुटेको थियो। त्यतिबेला छगन भुजबल ८ सांसद बोकेर शिव सेनाबाट बाहिरिएका थिए। लगत्तै २००५ मा पनि शिव सेना फुटेको थियो। यतिबेला नारायण राणे १० सांसद बोकेर शिव सेनाबाट बाहिरिए। राणेलाई शिव सेनाले महाराष्ट्रको मुख्यमन्त्री पनि बनाएको थियो। यही वर्ष बाला साहेबका भतिजा तथा कुनै बेला शिव सेनाका प्रभावकारी नेता राज ठाकरे पनि पार्टी छोडेर हिँडेका थिए। उनले महाराष्ट्र नवनिर्माण सेनाको नामबाट छुट्टै्र पार्टी गठन गरे। त्यो अहिले त्यति प्रभावकारी देखिएको छैन। तर, राजले शिव सेना छोड्नुमा उद्धव नै प्रमुख कारण थिए। बाला साहेबपछि शिव सेनाको कमाण्ड राज ठाकरेकोमा सर्ने धेरैको अनुमान थियो। तर, बाला साहेबले मर्नुअघि आफ्नो उत्तराधिकारीको रूपमा उद्धवलाई अघि सारे। यसपछि राजले पार्टी छोडेका हुन्।   

कुनैबेला भाजपाको ‘सानो भाइ’ भनेर चिनिने शिव सेना विभाजित गर्न पछिल्लो समय भाजपानै सक्रिय थियो। यसबीच हिन्दुत्वको नारालाई लिएर दुवै पार्टी एकअर्काको दुश्मन बनेका थिए। शिव सेनाको आधाभन्दा बढी सांसद बोकेर टुक्राउने अभियानमा सिन्देंलाई भाजपाले पूर्ण समर्थन गरेको भन्दै उद्धवको समूह आगो बनेको थियो। 

२० जुनमा सिन्दें २५ सांसद बोकेर भाजपाको गढ मानिएको गुजरात पुगेका थिए। उनले २१ जुनमा गुजरातबाटै आफूसँग ३५ सांसद रहेको जानकारी गराएपछि शिव सेनामा हलचल मच्चिएको थियो। सिन्देंलाई फकाउन उद्धव ठाकरेले राम्रो प्रस्ताव नराखेका होइनन्। तर, मुख्यमन्त्री हुँदा आफूसँग एक पल्ट पनि नभेटेको तथा आफ्नो मानमद्र्धन गर्दै हिँडेको भनेर सिन्देंले आलोचना गरेका थिए। 

२२ जुनमा सिन्दें ४० सांसद बोकेर भाजाप शासित राज्य गुवाहाटी पुगेका थिए। २३ जुनमा उनलाई ७ सांसदले शिव सेनाको विधायक दलको नेता छनोट गरेपछि उद्धव अफ्ठेरोमा परेका थिए। 

२४ जुनमा सिन्देंले १६ सांसदलाई अयोग्य घोषित गर्दै उपसभामुखविरूद्ध अविश्वासको प्रस्ताव राखेका थिए। तर, उनको प्रस्ताव खारेज भएपछि उनी अदालत पुगे। उपसभामुखविरूद्ध अविश्वासको प्रस्तावको फैसला ११ जुलाईमा हुँदैछ। 

२८ जुनमा पार्टीलाई फुटबाट जोगाउन उद्धवले महाराष्ट्रका पूर्व मुख्यमन्त्री तथा भाजपा नेता देवेन्द्र फडणवीससँग २ पल्ट भेटघाट गरेका थिए। तर, अदालतले ३० जुनमा ‘फ्लोर टेस्ट’ गर्ने आदेश दिएपछि उद्धवले २९ जुनको राती नै मुख्यमन्त्री पदबाट राजीनामा गर्नुपर्यो। 

महाराष्ट्रको विधानसभामा हाल २ सय ८७ सिट रहेको छ। सत्ता गठनका लागि यो प्रदेशमा १ सय ४४ सिट आवश्यक पर्ने गर्छ। शिव सेनाबाट विद्रोह गरेका सिन्दें र भाजपाको मत जोड्दा विधानसभामा १ सय ६२ सिट हुन जान्छ। जुन सरकार बनाउन पर्याप्त देखिन्छ। अहिले सिन्देंसँग ४९ सांसद छन् भने भाजपासँग १ सय ६ रहेको छ।  

प्रतिक्रिया